पश्चिमको मुख्य पर्यटकिय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जमा दर्शै तिहार अवधिमा झण्डै २९ सय पर्यटकहरूले भ्रमण गरेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार दशैँ अवधि असोज ८ गते देखि २२ गते सम्म नेपाली एक हजार ६, विदेशी एक सय ६७ र सार्क मुलुकका ३४ जना गरि एक हजार दुई सय सात जना पर्यटकहरू निकुञ्ज भ्रमण गरेका छन् ।
त्यसैगरी तिहार अवधि कार्तिक एक गते देखि नौ गते सम्म विदेशी पर्यटक तीन सय ९१, नेपाली एक हजार एक सय ८७ र सार्क मुलुकका ९८ गरि एक हजार ६ सय ७६ जना पर्यटकहरूले निकुञ्ज भ्रमण गरेका छन् ।
दशैं र तिहार अवधिमा दुई हजार ८ सय ८३ जना पर्यटकले निकुञ्ज भ्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एव.सुचना अधिकारी सरोजमणी पौडेलले बताउनु भयो ।
उहाँका अनुसार दशैँ अवधिमा एक सय ८० वटा र तिहार अवधिमा दुई सय २६ वटा गरी चार सय छ वटा जिप सफारी भएको छ ।
निकुञ्जका अनुसार चाडपर्वको समय चालु आर्थिक बर्षको असोज महिनामा मात्र दुई हजार पाँच सय ७७ जना पर्यटकहरू निकुञ्ज भ्रमण गरेका छन् जसमध्ये एक हजार नौ सय ९१ जना नेपाली पर्यटक मात्र थिए ।
गत आर्थिक २०८१/८२को असोज महिनामा एक हजार तीन सय नौ जना मात्र नेपाली पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । साउन महिनामा २३ जना र भदौ महिनामा एक सय २८ जना पर्यटकहरू मात्र निकुञ्ज प्रवेश गरेका थिए । चाडपर्व र विदाको समयमा निकुञ्ज लगाएतका पर्यटकिय क्षेत्रमा भ्रमण गर्ने नेपालीको संख्या बढ्दैको छ ।
गत आर्थिक बर्ष २०८१/८२ मा २८ हजार ६७ जना पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । अघिल्लो आर्थिक बर्ष २०८०/८१ मा २६ हजार एक सय ३१ जना पर्यटक प्रवेश गरेका थिए । कोरोना काल यता हरेक बर्ष निकुञ्जमा प्रवेश गर्ने पर्यटकको संख्यामा बृद्धि हुँदै गएको छ ।
आर्थिक बर्र्ष २०८०/८१ दुई करोड ८४ लाख राजश्व पर्यापर्यटनबाट प्राप्त भएको छ । आन्तरिक पर्यटकलाई निकुञ्ज प्रवेश गर्न रु एक सय, सार्क मुलुकका पर्यटकलाई रु सात सय ५० र अन्य मुलुकका पर्यटकका लागि रु एक हजार ५ सय शुल्क लाग्ने गरेको रेन्जर सन्त बहादुर मगरले बताउनु भयो ।
पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन र भ्रमण गर्ने पर्यटकहरूको घुईचो लाग्ने गरेको छ । विशेषगरी विदाको दिनमा निकुञ्जमा नेपाली पर्यटकको घुइचो लाग्ने गरेको छ ।
हात्तीसार, गोही प्रजनन् केन्द्र अवलोकन, जंगल सफारी, जंगल वाल्कको लागि बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको रोजाईमा पर्ने गरेको छ ।
निकुञ्ज सफारी गरेर फर्किएका अधिकांश पर्यटकहरुले पाटे बाघ लगायत अन्य जनावर हेरेर खुसी भएको प्रतिक्रिया दिने गरेका छन् ।