प्रधानमन्त्री कर्कीले सातै मुख्यमन्त्रीलाई बोलाइन्, संघ–प्रदेश समन्वयमा केन्द्रित बैठक आज

  • Clock icon
    २०८२ कार्तिक १६, आईतवार

प्रधानमन्त्री सुसिला कर्कीले संघीय र प्रादेशिक सरकारबीच समन्वय बलियो बनाउनका लागि आज (आइतबार) सातै प्रदेशका मुख्यमन्त्रीसँग बैठक बोलाएकी छन्। बैठक आज दिउँसो ४ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्नेछ।

प्रधानमन्त्री कार्यालयका अनुसार बैठकको उद्देश्य हालको राजनीतिक परिवेशमा संवाद र सहकार्य सुदृढ पार्ने हो। संघीय प्रणालीअन्तर्गत नीति कार्यान्वयन, बजेट समन्वय र विकास योजनाको प्रभावकारिताबारे छलफल हुने बताइएको छ।

बैठकमा सहभागी हुने मुख्यमन्त्रीहरूमा —

  • कोशी प्रदेशका हिक्मतबहादुर कार्की,

  • मधेश प्रदेशका जीतेन्द्रप्रसाद सोनल,

  • बागमती प्रदेशका इन्द्रबहादुर बानिया,

  • गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे,

  • लुम्बिनी प्रदेशका चेतनारायण आचार्य,

  • कर्णाली प्रदेशका यमलाल कंडेल, र

  • सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह रहेका छन्।

प्रधानमन्त्री कर्कीले संघीय र प्रादेशिक तहबीच नीति–निर्णय, बजेट कार्यान्वयन, र स्रोत–साधन व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि नियमित संवाद संयन्त्र स्थापना गर्ने प्रस्ताव समेत राख्ने तयारी गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बालुवाटारमा आजको बैठकलाई संघीय संरचनामा सहकार्य र विश्वास पुनर्स्थापनाको प्रयासको रूपमा हेरिएको छ।

  • Clock icon
    २०८२ कार्तिक १६, आईतवार