बैंकहरूको चिन्ता बढ्योः जेनजी आन्दोलनपछि अर्थतन्त्र ‘जोखिम मोड’मा

  • Clock icon
    २०८२ कार्तिक १८, मंगलवार

जेनजी आन्दोलनका नाममा ठूला व्यावसायिक सम्पत्तिमाथि भएका आक्रमणपछि नेपाली अर्थतन्त्र थप संकटतर्फ उन्मुख भएको बैंकरहरूले बताएका छन्। उनीहरूका अनुसार देशभरको व्यावसायिक वातावरण अस्थिर बन्दा नयाँ परियोजना विस्तारका योजना ठप्प भएका छन् भने पुराना व्यवसायसमेत संकुचित हुँदै गएका छन्।

बैंकमा थुप्रिएको अत्यधिक तरलता उपयोग हुन नसक्दा पुराना ऋणसमेत उठ्न नसक्ने अवस्था आएको बैंकरहरूको चिन्ता छ। उनीहरूले अहिले वित्तीय स्वास्थ्य जोगाउन विशेष जोखिम व्यवस्थापन योजनामा काम भइरहेको बताएका छन्।

एक बैंकरका अनुसार, “जोखिम व्यवस्थापन र संकट समाधानका लागि योजना बनाइरहेका थियौँ, तर अहिलेको परिस्थिति निकै अप्ठेरो छ। अब बैंकलाई जोगाउन ठोस रणनीति तयार गर्दैछौँ।”

बैंकरहरूले अर्थतन्त्रको गिरावटबीच बैंकलाई सञ्चालनयोग्य राख्न कर्मचारी र शाखा कटौती, नगद प्रवाह नियन्त्रण, धितो बिक्री प्रक्रिया र ऋणी छनोटजस्ता उपायसमेत समावेश गरी योजना बनाइरहेको बताएका छन्।

अर्का एक बैंकरका अनुसार कर्जा असुली कठिन बन्दै गएको छ। “लगानीकर्ताले सुरक्षाको प्रत्याभूति पाएका छैनन्। उल्टै ठूला लगानीकर्ता पैसा बाहिर लैजाने प्रयासमा छन्,” उनले भने।

लुटिएका हातहतियार, भागेका कैदीबन्दी र राजधानीका व्यावसायिक प्रतिष्ठानमाथि भएका आक्रमणले सर्वसाधारण र लगानीकर्ता त्रसित भएको बैंकरहरूको भनाइ छ। सरकार र सुरक्ष निकायले व्यवसायिक सुरक्षामा कमजोरी देखाएपछि लगानीकर्ताहरू निजी जोखिम लिन अनिच्छुक भएका छन्।

बैंकरहरूका अनुसार यदि ठूला उद्योग बन्द भए र ऋणीहरू पलायन भए भने पूरै वित्तीय प्रणाली जोखिममा पर्न सक्ने खतरा छ। “हामी निराशावादी हुन चाहँदैनौं, तर अब मानसिक रूपमा कठिन समयका लागि तयार हुनुपर्छ,” एक बैंकरले भने।

यद्यपि केही बैंकरहरूले अझै पनि सकारात्मक सोच राख्दै व्यवसायीको आत्मबल घटाउने हैसियतमा जान नहुने बताएका छन्। उनीहरूका अनुसार केन्द्रिय बैंकका सहुलियत नीतिहरूले केही हदसम्म राहत दिएको भए पनि आगामी महिनाहरू निर्णायक हुनेछन्।

  • Clock icon
    २०८२ कार्तिक १८, मंगलवार