नबिल बैंकको त्रैमासिक नाफा घट्यो, सञ्चालन आम्दानीमा समेत कमी

  • Clock icon
    २०८२ कार्तिक २०, बिहीबार

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नबिल बैंक लिमिटेडको नाफा घटेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा १४.५७ प्रतिशतले घटेको हो।

बैंकले पहिलो त्रैमासमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा रहेको २ अर्ब ५ करोड ६५ लाख रुपैयाँभन्दा कम हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशत घटेर ३ अर्ब ९० करोड १२ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ। यस्तै, कुल सञ्चालन आम्दानी पनि १.०३ प्रतिशत घटेर ५ अर्ब २७ करोड ४१ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन मुनाफा १०.८४ प्रतिशतले घटेर २ अर्ब ५७ करोड ९८ लाख ८६ हजार रुपैयाँमा झरेको छ।

तर, सकारात्मक पक्षमा खुद फि तथा कमिशन आम्दानी ६.२९ प्रतिशतले बढ्दै ७९ करोड ८७ लाख २८ हजार रुपैयाँमा पुगेको छ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १५ पैसा रहेको छ।

यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४५ करोड ७७ लाख रुपैयाँबाट बढेर ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ, जसले नाफामा प्रत्यक्ष असर पारेको छ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि ३ रुपैयाँ ८६ पैसा घटेर २५ रुपैयाँ ९७ पैसामा सीमित भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७२ पैसा र मूल्य–आम्दानी अनुपात (P/E ratio) १९.९७ गुणा रहेको विवरणमा उल्लेख छ।

वर्तमानमा बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ। बैंकले पहिलो त्रैमासको अन्त्यसम्ममा ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

  • Clock icon
    २०८२ कार्तिक २०, बिहीबार