वित्तीय रूपमा कमजोर हुँदै गएको सिद्धार्थ बैंक चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा थप संकटमा पुगेको देखिएको छ। बैंकको नाफा १५.१७ प्रतिशतले घटेर ३२ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ, जुन अन्य वाणिज्य बैंकको तुलनामा निकै कम हो। गत वर्षको सोही अवधिमा बैंकको नाफा ३८ करोड २० लाख ८४ हजार रुपैयाँ थियो।
सञ्चालन नाफा पनि ओरालो लागेको छ। वित्तीय विवरण अनुसार तीन महिनामा बैंकको सञ्चालन नाफा ५३ करोड ९५ लाख रुपैयाँबाट घटेर साढे ५० करोड रुपैयाँमा पुगेको छ।
खुद ब्याज आम्दानीमा भने सामान्य सुधार देखिएको छ। असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब १६ करोड २५ लाख रुपैयाँ पुगेको छ।
तर, खराब कर्जा उच्च रहेको छ। समीक्षा अवधिसम्म खराब कर्जा ३.८० प्रतिशत पुगेको छ। बैंकको चुक्तापूँजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ८३ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ।
प्रतिशेयर आम्दानी पनि घटेको छ। बैंकको प्रतिशेयर आम्दानी १०.६४ रुपैयाँबाट घटेर ९.०३ रुपैयाँमा पुगेको छ। प्रतिशेयर नेटवर्थ भने २१८.०५ रुपैयाँ रहेको छ।
सुन्दर प्रसाद कडेलको नेतृत्वमा रहेको सिद्धार्थ बैंक हाल वित्तीय रूपमा कमजोर रहेको र आगामी समयमा थप चुनौतीहरूको सामना गर्नुपर्ने देखिएको छ।
