पाकिस्तान र अफगानिस्तान बीचको तेस्रो चरणको शान्ति वार्ता कुनै सम्झौताबिना नै समाप्त भएको छ । शनिबार वार्ता असफल भएकोमा दुवै देशले एकअर्कालाई दोष दिएका छन् ।
अफगानी तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ । इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगानिस्तानमा सार्ने प्रयास गरेको बताएको छ।
‘इस्लामिक इमिरेट्सको असल नियत र मध्यस्थकर्ताहरूको सबै प्रयासका बाबजुद पनि पाकिस्तानी प्रतिनिधिमण्डलको गैरजिम्मेवार व्यवहारका कारण वार्ता कुनै निष्कर्षमा पुग्न सकेन’, ‘अफगान तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदद्वारा जारी विज्ञप्तिमा भनिएको छ, कसैलाई पनि अफगानिस्तानको भूमि कुनै पनि अन्य देशविरुद्ध प्रयोग गर्न दिइने छैन, न त कुनै पनि देशलाई आफ्नो क्षेत्रबाट अफगानिस्तानको राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता र सुरक्षा विरुद्ध कार्यहरू गर्न वा समर्थन गर्न दिइनेछ।’
उनले वार्ताको क्रममा पाकिस्तानी पक्षले आफ्नो देशको सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगान सरकारमा सार्ने प्रयास गरेको बताए, जबकि अफगानिस्तानको सुरक्षा वा शान्तिको लागि कुनै पनि जिम्मेवारी स्वीकार गर्न इच्छुक छैन।
अफगान जनताको रक्षा गर्नु अफगान तालिबानको कानुनी र राष्ट्रिय जिम्मेवारी भएको उनले बताए । कुनै पनि आक्रमणको पूर्ण शक्तिका साथ सामना गरिने उनले चेतावनी दिए ।
कतार र टर्कियाको मध्यस्थतामा इस्तानबुलमा भएको दुई दिने वार्तामा अफगान सरकारले पाकिस्तानले गैरजिम्मेवार अडान अपनाएको आरोप लगायो।
अक्टोबर ९ मा शुरू भएको द्वन्द्वपछि, दुवै पक्षले अक्टोबर १९ मा कतारमा युद्धविराममा हस्ताक्षर गरेका थिए ।
