एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात दोस्रो संस्करणका लागि नेपाल क्रिकेट संघ (क्यान)सँगको ‘पावर्ड बाई’ साझेदारीलाई निरन्तरता दिने घोषणा गरेको छ। टी–ट्वान्टी फ्रेन्चाइज आधारित यो भव्य प्रतियोगिता मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ।
‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित यस वर्षको साझेदारीले नेपाली क्रिकेट र देशभरका प्रशंसकहरूलाई एकताको भावनामा बाँध्ने लक्ष्य राखिएको छ। गतवर्ष पनि एनसेल यस प्रतियोगिताको ‘पावर्ड बाई’ साझेदार रहँदै आएको थियो।
एनसेलको भनाइअनुसार, नेपाली क्रिकेटको उदीयमान यात्रा र हालैका अन्तर्राष्ट्रिय टी–ट्वान्टी प्रदर्शनहरूले सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएका छन्। कम्पनीले यसपटक पनि फ्यानहरूलाई देश–विदेश जहाँ भए पनि एनसेल एपमार्फत एनपीएलका खेलहरू प्रत्यक्ष हेर्न सक्ने सुविधा उपलब्ध गराउने घोषणा गरेको छ।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, “क्रिकेट आज केवल खेल होइन, यो राष्ट्रको गौरव र एकताको प्रतीक बनेको छ। ‘पावर्ड बाई’ पार्टनरको रूपमा हामी फेरि पनि एनपीएलमा सहकार्य गर्न पाउँदा गर्व महसुस गर्छौं। एनसेलको कनेक्टिभिटीमार्फत हरेक फ्यानलाई हरेक क्षण क्रिकेटको उत्साहसँग जोडिरहनेछौं।”
क्यानका सचिव पारस खड्काले पनि एनसेलको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै भने, “क्रिकेटले सबैलाई जोड्ने खेल हो, र यस्तो सहकार्यले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न ठूलो भूमिका खेल्दछ। एनसेलको सहयोगले खेलकुदको विकास र एनपीएलको सफल आयोजनामा थप ऊर्जा दिएको छ।”
एक जिम्मेवार कर्पोरेट संस्था रूपमा एनसेलले स्थापना कालदेखि नै नेपालमा खेलकुदको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फदेखि पारा–खेलाडीहरूसम्मका गतिविधिमा सहयोग गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीहरूको सहभागिता सुनिश्चित गराउँदै आएको छ।
एनपीएल २०२५ ले यसपालि पनि नेपालका प्रदेशगत टिमहरू र अन्तर्राष्ट्रिय खेलाडीहरूको सम्मिश्रणमार्फत देशको क्रिकेट प्रतिभा उजागर गर्ने अपेक्षा गरिएको छ।
