सिटीटेकले सार्वजनिक गर्‍यो ‘फिनपस मिनी’, डिजिटल भुक्तानी अझ सजिलो

  • Clock icon
    २०८२ कार्तिक २३, आईतवार

सिटीटेक ग्रुप प्रालिले ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न नास (आईटी एक्स्पो २०२५) को अवसरमा नेपालकै अत्यन्त प्रतीक्षित फिनपस मिनी औपचारिक रूपमा सार्वजनिक गरेको छ।

फिनपस मिनी सानो आकारको, आकर्षक डिजाइन र प्रयोग गर्न सजिलो क्रान्तिकारी डिजिटल भुक्तानी उपकरण हो, जसले व्यापारीहरूलाई कार्ड र क्युआर दुवै माध्यमबाट भुक्तानी स्वीकार गर्न सहजता प्रदान गर्छ। यसले भिसा, मास्टरकार्ड, यूपीआई, नेपालपे कार्ड योजनाहरू, साथै नेपालपे क्युआर, फोनपे र स्मार्टक्युआर जस्ता क्युआर भुक्तानी प्रणालीलाई समर्थन गर्दछ।

साना तर विशेष डिजाइन भएको यस उपकरणले डेलिभरी सेवा, यातायात व्यवसायी र सबै प्रकारका साना तथा ठूला व्यवसायीहरूका लागि द्रुत, सुरक्षित र विश्वसनीय डिजिटल भुक्तानी अनुभव सुनिश्चित गर्छ।

कार्यक्रममा ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकले लेटर अफ इन्टेन्टमा हस्ताक्षर गर्दै फिनपस मिनीलाई आफ्ना भुक्तानी प्रणालीमा समावेश गर्ने इच्छा व्यक्त गरे।

सिटीटेकका प्रमुख कार्यकारी अधिकृत सजन शर्माले फिनपस मिनीलाई केवल उत्पादन नभइ, नेपालमा डिजिटल भुक्तानीलाई सबैको पहुँचमा पुर्‍याउने प्रतिबद्धताको प्रतीक बताए। उनले भने, “हामी देशका हरेक कुनामा रहेका व्यापारीहरूलाई सहज, सुरक्षित र सस्तो प्रविधिबाट डिजिटल भुक्तानीको अवसर दिन चाहन्छौं।”

सिटीटेकको चर्चित ब्राण्ड फिनपस हाल नेपालभरका १२ वटा बैंकमार्फत १०,००० भन्दा बढी व्यवसायीलाई सेवा दिँदै आएको छ। फिनपस मिनीको शुभारम्भले बैंकहरूलाई प्रतिस्पर्धी मूल्यमा एकीकृत र किफायती अक्वायरिङ समाधान प्रदान गर्ने नयाँ अध्याय सुरु गरेको छ।

  • Clock icon
    २०८२ कार्तिक २३, आईतवार