राधी विद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा आयका सबै प्रमुख सूचकहरूमा उल्लेख्य सुधार गरेको छ ।
प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा ८११.६३ प्रतिशतले बढेर २७ करोड ८५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
उल्लेखनीय नाफा वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि ६० रुपैयाँ ५८ पैसा पुगेको छ, जुन गत वर्षको तुलनामा ५३ रुपैयाँ ६२ पैसाले बढी हो ।
नाफा वृद्धिको प्रमुख कारण
कम्पनीको नाफा, सञ्चालन मुनाफा र आम्दानीमा भएको तीव्र वृद्धिको मुख्य कारण ‘अन्य आम्दानी’ मा भएको ठूलो वृद्धि हो । असोज मसान्तसम्ममा कम्पनीले ३५ करोड ७० लाख रुपैयाँ अन्य आम्दानी गरेको छ ।
त्यसैगरी, कम्पनीको विद्युत बिक्री आम्दानी पनि ४.४६ प्रतिशतले बढेर ४ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
सञ्चालन मुनाफा र नेटवर्थ
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १,३९६.०८ प्रतिशतले वृद्धि भएको छ । साथै कम्पनीको प्रतिशेयर नेटवर्थ १८०.८४ रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८३ करोड ८९ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ९७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ ।
