अमेरिकाले रोक्यो विदेशी विद्यार्थीको भिसा

अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई पत्र लेखेर अर्को निर्देशन नआउँदासम्म विदेशी विद्यार्थीहरुलाई भिसा नदिन भनेको हो ।

यो निलम्बन कहिलेसम्म जारी रहन्छ भन्ने स्पष्ट छैन । त्यसबारे दूतावास र वाणिज्य दूतावासका कर्मचारीहरुलाई ‘केही दिनभित्र’ दिशानिर्देश प्राप्त हुने भनिएको छ ।

ट्रम्प प्रशासनले विश्वविद्यालयहरू र विद्यार्थीहरूमाथि दबाब बढाउँदै गएको बेला पछिल्लो यो कदम अमेरिकामा अध्ययन गर्न चाहने विदेशी नागरिकहरूका लागि झट्का भएको अन्तराष्ट्रिय समाचार सस्थाहरुले जनाएका छन् ।

गत हप्ता ट्रम्प प्रशासनले हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थीहरू भर्ना गर्न दिने अनुमति रद्द गरेको थियो । चिनियाँसँग साँठगाँठ गरेको र यहुदी विरोधी गतिविधि बढाउन भूमिका खेलेको आरोप लगाउँदै ह्वाइटहाउसले हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको थियो ।