भोटेकोशीको बाढीपीडितका लागि छिमेक लघुवित्तको ४१ लाख ३९ हजार ७५२ रुपैयाँ सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति प्रकट गरेको छ।

संस्थाले बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन तथा बेपत्ता भएका व्यक्तिहरू सकुशल भेटिऊन् भन्ने प्रार्थना गरेको छ।

विपद्को यस कठिन घडीमा सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले छिमेक लघुवित्तले संस्थागत तर्फबाट ३० लाख रुपैयाँ र कर्मचारीहरूबाट संकलित ११ लाख ३९ हजार ७५२ रुपैयाँ गरी कुल ४१ लाख २9 हजार ७५२ रुपैयाँ नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

बाढीले धेरै परिवारको घर, सम्पत्ति र जीवनयापनको आधार नै प्रभावित बनाएको अवस्थामा पीडितको दुःखमा केही भए पनि साथ दिन सकियोस् भन्ने उद्देश्यले सहयोग गरिएको संस्थाले जनाएको छ। विपत्तिको समयमा राहत रकमभन्दा पनि पीडित परिवारले आफूहरू एक्लो नभएको महसुस गर्नु ठूलो मानवीय सहारा बन्ने भएकाले सहयोग र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा संस्थाले जोड दिएको छ।

छिमेक लघुवित्तले यस्तो कठिन परिस्थितिमा सबै मिलेर एकअर्काको साथमा उभिन आग्रहसमेत गरेको छ। संस्थाले आफ्ना सदस्य, कर्मचारी तथा परिवारसँगै बाढीबाट प्रभावित सम्पूर्ण नागरिकप्रति आफ्नो साथ र ऐक्यबद्धता रहेको जनाएको छ।

विपत्तिमा परेकाको पीडामा साथ दिनु नै अहिलेको सबैभन्दा ठूलो मानवीय दायित्व हो। बाढीले निम्त्याएको पीडाबाट प्रभावित परिवारले पुनः आफ्नो जीवन सामान्य अवस्थामा फर्काउन सकून् र विपत्तिमा बेपत्ता भएका आफन्तहरू सकुशल भेटिन सकून् भन्ने कामना गर्दै छिमेक लघुवित्तले राहत तथा उद्धार अभियानमा सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।