काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत प्रभावित क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गहिरो दुःख व्यक्त गर्दै बाढीपीडित नागरिकको राहत तथा उद्धारका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ।
बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन रहेका नागरिकको सकुशल खोजी तथा उद्धार होस् भन्ने कामना गरेको छ।
विपद्को यस कठिन समयमा पीडित परिवारलाई राहत पुर्याउन तथा सरकारको उद्धार र पुनःस्थापना अभियानमा सहयोग गर्ने उद्देश्यले नेशनल लघुवित्तले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ७० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो। संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपत्तिमा परेका नागरिकको पीडामा साथ दिन सहयोग गरिएको जनाएको छ।
बाढीले कतिपय परिवारको घर, सम्पत्ति र जीवनयापनका आधारहरू नै तहसनहस बनाएको अवस्थामा राहत र पुनःस्थापनाका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको संस्थाको भनाइ छ। विपत्तिको घडीमा पीडित परिवारलाई आर्थिक सहयोगसँगै उनीहरू एक्ला छैनन् भन्ने भरोसा र मानवीय साथ दिनु पनि उत्तिकै महत्वपूर्ण हुने भन्दै नेशनल लघुवित्तले सहयोगको हात अघि बढाएको हो।
संस्थाले बाढीबाट प्रभावित नागरिकको पीडा र कठिन परिस्थितिप्रति गहिरो सहानुभूति व्यक्त गर्दै राहत, उद्धार र पुनःस्थापनाका लागि भइरहेका प्रयासमा सबै पक्षलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेको छ। बाढीले खोसेको घरबार र जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउन राज्य, निजी क्षेत्र र समाजका सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको संस्थाले जनाएको छ।