बीमा बजारमा तीन महिनामै ‘डबल डिजिट’ छलाङ

  • Clock icon
    २०८२ कार्तिक २८, शुक्रबार

नेपाली बीमा बजार चालु आर्थिक वर्षका पहिलो तीन महिनामै उल्लेखनीय रूपमा चम्किएको देखिन्छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको २०८२/८३ को असोज मसान्तसम्मको तथ्यांक अनुसार बीमा व्यवसायको कुल आकार झन्डै ६३ अर्ब २९ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिभन्दा १९.७० प्रतिशत ले बढी हो।

गत आवको पहिलो त्रैमासमा बीमा कम्पनीहरूले ५२ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ शुल्क आर्जन गरेका थिए। आर्थिक शिथिलता, महामारी र प्राकृतिक विपत्तिका कारण सुस्त रहेको बजार अहिले पुनः सक्रिय बन्दै गएको प्राधिकरणको विश्लेषण छ।

जीवन बीमा क्षेत्र आक्रामक, २१.९५% वृद्धि

जीवन बीमा कम्पनीहरूको व्यवसाय समिक्षा अवधिमा २१.९५% ले बढेको छ।

  • गत वर्षको पहिलो त्रैमासिक : ४१ अर्ब ३० करोड १४ लाख

  • चालु वर्षको पहिलो त्रैमासिक : ५० अर्ब ३६ करोड ७३ लाख

हाल १४ ठूला र ३ लघु जीवन बीमा कम्पनी सञ्चालनमा छन्।

नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) मा भने ऐतिहासिक वृद्धि देखिएको छ।

  • चालु आव : १० अर्ब ६६ करोड १५ लाख

  • गत आव : ८ अर्ब ३७ करोड ९३ लाख
    वृद्धि : २१७.२४%

नविकरणमार्फत आर्जित बीमा शुल्क पनि ३९ अर्ब ७० करोड ५८ लाख पुगेको छ, जुन गत आवको तुलनामा २०.६१% बढी हो।

यही अवधिमा कम्पनीहरूले १९ लाख ८३९ नयाँ बीमालेख जारी गरेका छन्, जबकि गत वर्ष १४ लाख ६३ हजार ७२० मात्र थियो। हाल जीवन बीमा क्षेत्रमा १ करोड ५९ लाख ९ हजार १३५ बीमालेख सक्रिय छन्।

निर्जीवन बीमा : ११.६७% वृद्धि

निर्जीवन बीमा व्यवसायमा पनि सकारात्मक उछाल देखिएको छ।

  • चालु आव : १२ अर्ब ९२ करोड ४६ लाख

  • गत आव : ११ अर्ब ५७ करोड ३६ लाख
    वृद्धि : ११.६७%

यस क्षेत्रको बीमालेख विक्री पनि ५.७८% बढेर ७ लाख ८० हजार ६१३ पुगेको छ।

बीमा पहुँच बढ्दै, आधाभन्दा बढी जनसंख्या दायरामा

बीमा व्यवसाय विस्तारसँगै बीमाको पहुँच पनि व्यापक बन्दै गएको छ। गत वर्षको तुलनामा ६.२१% जनसंख्या थप बीमाको दायरामा आएको छ। हाल देशको ४९.०५% जनसंख्या बीमालेख अन्तर्गत आएको प्राधिकरणले जनाएको छ।

  • Clock icon
    २०८२ कार्तिक २८, शुक्रबार