राष्ट्रिय भवन संहिता गजेठ प्रकाशित भएसँगै बिहीबारदेखि औपचारिक रूपमा लागू भएको छ। भवन निर्माण प्रक्रियालाई सुरक्षित, दिगो र व्यवस्थित बनाउन सरकारद्वारा तयार पारिएको यो संहिता अब सबै तहमा बाध्यकारी बनेको हो।
सहरी विकास मन्त्रालयका अनुसार भवन संहिता अब केवल घर–घरको संरचनामा मात्र सीमित रहने छैन। संहिताले बाँध, पावरहाउस, सुरुङ जस्ता जलविद्युत परियोजनाका भूमिगत संरचनाहरू निर्माणका लागि समेत स्पष्ट निर्देशिका प्रदान गर्नेछ। मन्त्रालयले यसलाई दीगो पूर्वाधार निर्माणतर्फको महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ।
मन्त्रालयले स्थानीय तह, इन्जिनियर, प्राविधिक तथा सर्वसाधारण सबैलाई उक्त संहिताको पालना गर्न आग्रह गरेको छ। संहिताको कार्यान्वयनले भूकम्प जोखिमयुक्त देशमा सुरक्षित निर्माण मानक सुनिश्चित हुने अपेक्षा गरिएको छ।
