आगामी वर्ष सार्वजनिक हुन लागेको नयाँ पुस्ताको सेल्टोसले नेपालीसहित अन्तर्राष्ट्रिय कार बजारमा अहिल्यै चर्चा कमाउन थालेको छ। उपभोक्ताबीच अत्यधिक लोकप्रिय मानिने यो कम्प्याक्ट एसयूभी २०२५ डिसेम्बरको दोस्रो साताभित्र औपचारिक रूपमा लोन्च गरिने तय भएको छ। यस मोडलले नयाँ डिजाइन, प्रविधि र अद्यावधिक पावरट्रेनमार्फत प्रतिस्पर्धी सेग्मेन्टमा नयाँ उचाइ ल्याउने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार नयाँ सेल्टोसको भित्री तथा बाहिरी दुवै स्वरूपमा महत्वपूर्ण परिवर्तनहरू गरिएको छ। विशेष गरी डिजेल भेरियन्टमा रहेको १.५ लिटर इन्जिन अब ६-स्पीड म्यानुअल, ६-स्पीड अटोमेटिक तथा नयाँ ७-स्पीड अटोमेटिक ट्रान्समिसन विकल्पसहित आउनेछ।
बाहिरी दृश्यमा वर्टिकल एलइडी डीआरएल, परिमार्जित फ्रन्ट ग्रिल र प्रिमियम महसुस गराउने आधुनिक इन्टेरियर डिजाइन समावेश गरिएको छ। मिडिया रिपोर्टअनुसार डिसेम्बर १० मा कोरियामा विशेष कार्यक्रममार्फत यस मोडलको पहिलो झल्को सार्वजनिक हुनेछ, त्यसपछि भारतसहित अरू बजारमा क्रमशः उपलब्ध गराइनेछ।
सुरक्षा सुविधामा पनि नयाँ सेल्टोस अझ परिष्कृत बनाइएको बताइन्छ। यसमा ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ३६०–डिग्री क्यामेरा लगायतका अत्याधुनिक सुरक्षा विकल्प रहनेछन्।
भारतमा यसको अनुमानित सुरुवाती मूल्य ११ लाख ३० हजारदेखि २२ लाख भारतीय रुपैयाँसम्म रहने बताइएको छ। बजारमा आएपछि यसले ग्रान्ड भितारा, हुन्डाइ क्रेटा, टायोटा हाइराइडर, होन्डा इलेभेटलगायतका मोडेलसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ।
