अपजशको भारी एमालेका ईश्वर

  • Clock icon
    २०८२ कार्तिक २९, शनिबार

०६४ सालमा उक्त ट्रष्ट बनेपछि ती सम्पत्ति राजा वीरेन्द्र र उनको परिवारका नामबाट ट्रष्टमा ल्याइयो । काठमाडौंको मुटु मानिने दरबारमार्ग, कालिमाटी, कमलादीलगायत स्थानमा रहेका महंगा जग्गाको पुनः लिज सम्झौता त ०६६ पुस र माघमा मन्त्रिपरिषदबाट गराइयो तर राजदरबारका नाममा कहाँ, कति जग्गा छ र स्थिति के छ रु भन्नेबारे त्यतिञ्जेलसम्म सरकार कुहिराको कागजस्तो स्थितिमा थियो ।

पोखरेल उपप्रधानसहित रक्षामन्त्री र नेपाल ट्रष्टको अध्यक्ष थिए उनैले हो तत्कालीन राजपरिवारका नाममा रहेको सरकारी जग्गा खोजबिन गरी श्वेतपत्र जारी गरिएको ।

त्यसै क्रममा १३ जिल्लामा २१ हजार ५६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा रहेको तर अधिकांश कौडीको भाउमा उपयोग भइरहेको विषय प्रकाशमा आयो । अहिले पनि सोही अथाह सम्पत्तिलाई कानुनी छिद्र खोजेर शासक र प्रशासकहरूले कमाउने माध्यम बनाइरहेका छन् ।

गतहप्ताबाट दरबारमार्गमा अवस्थित कित्ता नम्बर ४६०६ को १ रोपनी १४ आना जग्गा थामसेर्कु ट्रेकिङ्गलाई ३० वर्षका लागि लिजमा दिँदा गरिएको गड्बडीबारे पूर्वसहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेर अनुसन्धान चल्दै छ ।

देशभर २१ हजार ५६२ रोपनी जग्गा लिजमा लिँदा कति बदमासी भए होलान् रु त्रिपाल काण्डमा मुछिएका तत्कालीन सदस्य सचिव अर्जुन कार्कीलाई ओभानो बनाएर सहसचिव लेखबहादुर कार्कीलाई समाती कित्ता नम्बर ४६०५ समेत थपेर लिजमा दिनेरलिने काम भएको थियो ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यस्ता अभागी हुन् कि काम गर्ने तर कतै जश नपाउने ! उदाहरणकै लागि नेपाल ट्रष्टको जग्गालाई लिन सकिन्छ ।

यसरी नेपाल ट्रष्टको जग्गा बदमासीमा लहरो तान्दा पहरो थर्किने देख्छन्, त्यहींका कर्मचारी । तत्कालीन राजा वीरेन्द्रको परिवारका नामबाट २१ हजार ५६२ रोपनी जग्गा सरकारको स्वामित्वमा आएमध्ये सबैभन्दा बढी ४ हजार ४४२ रोपनी जग्गा काठमाडौं जिल्लामा मात्रै छ ।

ट्रष्टसँग हाल रहेको सम्पत्तिमध्ये गोकर्ण फरेष्ट रिसोर्ट, कमलादीको काठमाडौं प्लाजा, लाजिम्पाटको स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको भवन, टेकुस्थित बिजनेस पार्क, दरबारमार्गको कम्प्लेक्स, ताहाचलको सोल्टी आउटर कम्प्लेक्स छन् ।

यी सम्पत्ति लामो समयका लागि लिजमा दिइएका हुन् । यस्तै नेपाल ट्रष्टको स्वामित्वमा काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सुर्खेत, कास्की, चितवन र धादिङमा गरी २१ हजार ५६२ रोपनी ४ आना २ पैसा १ दाम रहेको छ ।

जसमध्ये सबैभन्दा धेरै धादिङमा १५ हजार १ सय १ रोपनी र सबैभन्दा कम ललितपुरमा ८ रोपनी १० आना जग्गा छ ।

ईश्वर पोखरेलबाट जारी भएको श्वेतपत्रअनुसार धादिङस्थित जग्गाले ७० प्रतिशत ओगटेको छ भने काठमाडौंको ४ हजार ४ सय ४२ रोपनीले २०.६१ प्रतिशत, चितवनको ७६७ रोपनीले ३.५६ प्रतिशत हिस्सा ओगट्दा सुर्खेतमा ४ सय ५७ रोपनी जग्गाले २ दशमलव ११ प्रतिशत, नुवाकोटको २ सय ४० रोपनी जग्गाले १ दशमलव ११ प्रतिशत क्षेत्रफल ओगटेको छ ।

वार्षिक ४ करोड ५० लाख भाडा तिरेर दरवारमार्गको १ रोपनी १४ आना जग्गा थामसेर्कुले लिजमा पाउँदा केही सय मीटरमात्र दूरीमा रहेको कमलादीको काठमाडौं प्लाजा सञ्चालन गर्ने कन्सेप्ट डेभलपर्सले भने वार्षिक ७५ लाख रूपैयाँ मात्र तिर्दै आएको छ । उक्त ब्यापारिक कम्प्लेक्सले ५ रोपनी २ दाम क्षेत्रफल ओगटेको छ ।

यस्तै, स्टाण्डर्ड चार्टर्ड बैंक रहेको घरजग्गा पनि नेपाल ट्रष्टकै हो । कामपना २ लाजिम्पाटस्थित ६ रोपनी १३ आना क्षेत्रफलमा रहेको सो घरजग्गा बैंकले लिजमा लिई कार्यालय सञ्चालन गरिरहेको छ ।

उसले वार्षिक १ करोड १५ लाख ३ हजार ३६५ भाडा तिर्ने गरेको छ । २०५० सालमै २७ वर्षका लागि लिजमा लिइएको सो घरजग्गाको लिज अवधि १२ वर्ष बाँकी रहँदै २०६६ पुस २३ मा पुनः थप १५ वर्षका लागि लिजमा पाएको थियो ।

यस्तै टेकुमा अवस्थित टाउन डेभलपर्स प्रा.लिसँग ०६६ साल पुस १० मा पुनः सम्झौता गरी १९ रोपनी १२ आना जग्गा ८३ सालसम्म कौडीको भाउमा दिलाइएको छ । उसले बनाएको बिजनेश पार्कले वार्षिक ५० लाख रूपैयाँ भाडा बुझाउँछ । यस्तै, अहिले सिआइबी लागेको दरबारमार्गस्थित १ रोपनी १४ आना जग्गा २०७४ जेठ १४ मा ३० वर्षका लागि लिज सम्झौता भएको हो ।
सो जग्गाको भाडाबापत थामसेर्कु ट्रेकिङ्गले बार्षिक ४ करोड ५४ लाख बुझाइरहेको छ ।

कालिमाटी ताहाचलस्थित सोल्टी होटल नजिक चार रोपनी चार आना जग्गा थामसेर्कु ट्रेकिङ प्रालिले नै ३० वर्षकै लागि लिजमा हात पारेको छ । ४ रोपनी ४ आना ३ पैसा जग्गाको लिज सम्झौता २०७४ मंसिर १४ मा भएको देखिन्छ । थामसेर्कुले संरचना निर्माण हुन्जेल ३ वर्षसम्म वार्षिक ६ लाख र निर्माण सकिएपछि वार्षिक ६१ लाखका दरले प्रत्येक ५ वर्षमा भाडा बढाउने सम्झौता छ ।

छोटो अवधिका लागि नेपाल ट्रष्टका अन्य सम्पत्ति केही सरकारी कार्यालयले लिजमा लिएका छन् । ताहाचलको ३८ रोपनी १२ आना जग्गामा रहेका भवनमा सार्वजनिक खरिद अनुगमन कार्यालय बस्दै आएको थियो । जुन केशरमहलमा सरिसकेको छ । यस्तै नेपाल रेडक्रस, श्रम कार्यालय र गरिवी निवारण कोषका कार्यालयहरूले वार्षिक ५२ लाख भाडा बुझाउने सम्झौता गरेका छन् ।

मासिक १ लाख ८६ हजार भाडा बुझाउने गरी गरिबी निवारण कोष, बार्षिक ५८ लाख बुझाउने गरी बैदेशिक रोजगार विभागसँग सम्झौता भएको भेटिन्छ । काठमाडौं १३ को स्वयम्भु छाउनीस्थित १५ रोपनी १ आना क्षेत्रफलमा रहेको घरजग्गा पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजो दिइएको थियो । त्यस्तै छाउनी मार्गमै रहेको २ रोपनी १३ आनामा बनाइएको घरजग्गा नेपाल ट्रष्टले नै संरक्षण गरेर राखेको छ ।

कालिमाटीमै रहेको ३ रोपनी ७ आना जग्गा भने हिमालय वीरविक्रम शाह मोही कायम रहेको भेटिएको छ । धनकुटाको चुलीवनमा १९४ रोपनी जग्गा निजामती कर्मचारीका छोराछोरीको लागि आवासीय विद्यालयलाई भाडामा लगाइएको छ ।

‘प्राइम लोकेशन’ मा मात्र होइन ट्रष्टका जग्गा कतै जंगलका रूपमा, कहीँ मोही खडा गरेर राखिएको छ । बालाजु माथि ब्यापारिक प्रयोजनयोग्य १२३ रोपनी जग्गा खाली र खुला छ । गल्कोपाखाको ९ आना जग्गामा मोहीले घर जग्गा बनाएर बसिरहेका छन् । फर्पिङमा उस्तै हालत छ । त्यहाँको ६८ रोपनी १२ आना जग्गा विद्यालयले निःशुल्क उपयोग गरिरहेको छ । सतुंगलको १ रोपनी ६ आना जग्गा मोहीले खेतिबालीमा प्रयोग गरिरहेको छ भने मातातीर्थको ५९ रोपनी जग्गामा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको नजर परेको थियो । थानकोटस्थित १०२ रोपनी, साँखुको २ रोपनी जग्गामा खेती किसानी भइरहेको छ । यस्तै पोखरा महानगरपालिका वडा नम्बर ६ र ७ मा अवस्थित १७४ रोपनी ४ आना जग्गामा रत्न मन्दिर, हिमागृह जस्ता ऐतिहासिक दरबार छ ।

केही महिना अगाडिमात्र सोल्टी मोडमा रहेको जग्गावापत थामसेर्कुले नेपाल ट्रष्टलाई बुझाउनु पर्ने चार करोड नबुझाई थर्ड पार्टी प्रवेश गराइएको र सो काम तमाम पारिँदा तत्कालीन भूमि व्यवस्थापनमन्त्री बलराम अधिकारीदेखि नेपाल ट्रष्टका सचिव रामआधार साहले कोशेली हात पार्न सफल भएको ट्रष्टका कर्मचारीहरू बताउँछन् ।

 

जनआस्थाबाट साभार

  • Clock icon
    २०८२ कार्तिक २९, शनिबार