नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सो विवरणअनुसार कम्पनीको कुल आम्दानी र मुनाफा दुवैमा घटबढ भएको देखिएको छ।
असोज मसान्तसम्म कम्पनीको कुल आय रु ९ अर्ब ४७ करोड १० लाख ५१ हजार रहेको छ, जुन गत वर्षको रु १० अर्ब ६ करोड ३७ लाख ३५ हजारको तुलनामा ५.८९% (रु ५९ करोड २६ लाख ८५ हजार) ले कम हो। यद्यपि, कुल सञ्चालन आयमा भने नगन्य ०.०१% मात्र कमी आएको छ।
कम्पनीको खुद मुनाफा २३.८२% घटेर रु १ अर्ब ३२ करोड ५१ लाख ७५ हजार पुगेको छ, जुन गत वर्षको रु १ अर्ब ७३ करोड ९५ लाख ९० हजार थियो। कर अघिको मुनाफा १८.९०% घटेर रु २ अर्ब ८८ करोड २१ लाख १६ हजार पुगेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी रु २९.४५ कायम भएको छ।
नाफा र राजश्वमा आएको घटबढका प्रमुख कारणहरूमा:
-
ओटीटी सेवाहरूको व्यापक प्रयोगले विदेशबाट हुने आगमन कलमा कमी, जसले अन्तरआवद्धता आयमा १७.२९% (रु १० करोड ९७ लाख ४२ हजार) को गिरावट ल्याएको छ।
-
बजारमा ब्याजदरमा गिरावटका कारण मुद्दती निक्षेपबाट प्राप्त ब्याज आम्दानीमा ४९% कमी, जसले ब्याज आम्दानीमा करिब ५० करोड को घटबढ गरेको छ।
-
कर्मचारी खर्चमा वृद्धि: कर्मचारी बीमा खर्च रु १.९५ करोड ले बढेको, र पेन्सन योजनाको डिस्काउन्ट दर परिवर्तन (७.५५% बाट ७.५%) का कारण कर्मचारी अवकाश खर्च रु १६.५ करोड ले बढेको। कुल कर्मचारी खर्चमा रु ८.८ करोड को वृद्धि भएको छ।
नेपाल टेलिकमले जनाएको छ कि विकट तथा दुर्गम स्थानमा सेवा विस्तार र गुणस्तर सुधार गर्ने कामले पनि कुल लागतमा वृद्धि गरेको छ। यसले देखाउँछ कि नेपालको प्रमुख सञ्चार सेवा प्रदायकले सेवा विस्तार र डिजिटल पहुँचमा ध्यान दिनुको साथै आर्थिक चुनौतीका बावजुद संचालन निरन्तरता कायम राख्नमा केन्द्रित छ।
