महासंघले व्यवसायीका समस्याको समाधानमा ‘ट्रबलसुटर’को भूमिका निर्वाह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले उद्यमी, व्यवसायी र अर्थतन्त्रका समस्या समाधानमा ‘ट्रबलसुटर’को भूमिका निर्वाह गर्दै आएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा तथा छैठौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले उद्यमी र व्यवसायीका समस्या समाधानमा महासंघले निरन्तर प्रयास गर्दै आएको जानकारी दिए।

उनले भने, “हामी उद्योगका श्रम समस्या, डेडिकेटेड तथा ट्रंकलाइन विवाद, लगानी वातावरण सुधार, कानुन परिवर्तन, उच्चस्तरीय आर्थिक सुधार सुझाव, कालाबजारी ऐन संशोधन जस्ता विषयमा राज्यसँग छलफल, संवाद र वार्ता गर्दै समाधान निकाल्न प्रयास गर्दै आएका छौँ।”

अध्यक्ष ढकालले डेडिकेटेड तथा ट्रंकलाइन विवादको समाधानका लागि उहाँले प्रधानमन्त्री सुशिला कार्की र ऊर्जा मन्त्री कुलमान घिसिङ्गलाई गरेको अनुरोध गम्भिरतापूर्वक लिई पहल गरिएकोमा धन्यवाद व्यक्त गरे।

उनले उत्पादन वृद्धि र रोजगारी सृजना गर्न ठूलो मात्रामा स्वदेशी तथा विदेशी पुँजीको आवश्यकता रहेको बताउँदै, महासंघको नेतृत्वमा अन्य निजी संघसंस्थासँग संयुक्त रूपमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरिएको जानकारी दिए। उक्त कम्पनीमार्फत ठूला र बहुआयामिक आयोजना निर्माण गरी पूर्वाधार विकास, रोजगारी सृजना र सेवा प्रवाहमा सहजता ल्याइएको थियो।

त्यसैगरी, उनले हालैको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्र र सम्पत्तिमाथि भएको क्षतिका सम्बन्धमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको जानकारी दिए।

अध्यक्ष ढकालले अन्तमा मुलुकको विकास र समृद्धि सबैको साझा उद्देश्य भएको भन्दै त्यसमा सबैको हातेमालो आवश्यक रहेको पनि बताए।