दाबी व्यवस्थापन सुधारतर्फ निर्जीवन बीमा क्षेत्र

जेनजी आन्दोलन र त्यसपछि आएका प्राकृतिक विपत्तिका कारण निर्जीवन बीमा क्षेत्र अहिले अभूतपूर्व दाबी चापमा परे पनि क्षेत्रले दाबी व्यवस्थापन र भुक्तानी प्रक्रियामा गति ल्याइरहेको छ। बीमा उद्योगका लागि चुनौतीपूर्ण मानिएको यो अवस्थालाई सुधारतर्फ लैजान कम्पनीहरू सक्रिय देखिएका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार भदौ २३–२४ को जेनजी आन्दोलनका कारण मात्रै २३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी दाबी परेको छ। त्यस्तै, असोज १८ गतेको अविरल वर्षाजसरी आएको बाढी–पहिरोबाट ३ अर्ब ७८ करोड ४० लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको छ।

जेनजी आन्दोलनका दाबीमध्ये अहिले सम्म ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरिसकिएको छ। तर बाढी–पहिरोका दाबीहरू भने अझै भुक्तानी प्रक्रियामा छन्।

उच्च दाबी दायित्वका कारण धेरै निर्जीवन बीमा कम्पनीहरू घाटामा पुगेका छन्। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा ठूला कम्पनीहरू संयुक्त रूपमा करिब २ अर्ब घाटामा पुगेका छन्। गत वर्ष यही अवधिमा कम्पनीहरू औसत १६ करोड ६५ लाख रुपैयाँ नाफामा थिए।

दाबी चाप कम रहेका प्रभू इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स भने नाफामा रहन सफल भएका छन्। प्रभूले ६ करोड ३१ लाख र नेशनल इन्स्योरेन्सले ३ करोड ८१ लाख नाफा कमाएका छन्।

सबैभन्दा बढी दाबी दायित्व सिद्धार्थ प्रिमियर र ओरियण्टल इन्स्योरेन्समा परेको छ। सिद्धार्थ प्रिमियरमा ६ अर्ब बढी र ओरियण्टलमा ५ अर्ब ६५ करोडभन्दा बढी दाबी परेको देखिन्छ। यसैबीच, शिखर, सगरमाथा–लुम्बिनी (सलिए), आइजी प्रुडेन्सियल, सानिमा जिआइसी, हिमालयन एभरेष्ट, नेको, युनाइटेड अजोड, एनएलजीलगायत अधिकांश कम्पनी घाटामा छन्।