कमला पुल निर्माणमा गति, असारभित्र सञ्चालनमा ल्याउने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी लगायतको टोली पनि उपस्थित थियो।

२०६८ जेठमा पप्पु लुम्बिनी जेभीसँग २४.९१ करोड रुपैयाँ (भ्याटसहित) मा ठेक्का सम्झौता भएको यो पुल निर्माण २०७१ मंसिरमा सम्पन्न हुने तय थियो। तर, निर्माणमा भएको ढिलाइका कारण आठौं पटक म्याद थप गरिएको छ र हाल म्याद थप प्रक्रियामा छ।

मन्त्री घिसिङले पुल मधेश क्षेत्रको विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको भन्दै निर्माण कार्य तीब्र गतिमा अगाडि बढाइने प्रतिबद्धता जनाउनुभयो। विगतमा भएको अनियमितताबारे सम्बन्धित निकायले छानबिन गरिरहेको र दोषीलाई कानुन बमोजिम कारवाही गरिने जानकारी पनि दिनुभयो।

हालसम्म पुल निर्माणमा २०.४३ करोड रुपैयाँ (भ्याटसहित) भुक्तानी भइसकेको छ। पुलको भौतिक प्रगति ८३% र वित्तीय प्रगति ८२% पुगेको छ। १२ वटा स्पान भएको पुलको लम्बाइ ४६९ मिटर रहेको छ। नदीको दुवै किनारतर्फ १३०० मिटर नदी नियन्त्रण र २०० मिटर पहुँच सडक निर्माण गर्नुपर्ने छ।

२०७८ असार १७ मा आएको बाढीले पुलका दुईवटा जग भासिएर चार स्पानमा क्षति पुगेको थियो। क्षति पुगेका स्पानमध्ये दुई हटाइएको छ भने बाँकी दुई हटाउने काम बाँकी छ। विशेषज्ञको परिमार्जित डिजाइन र DOE स्वीकृतिपछि बाँकी काम असारभित्र सम्पन्न गरी पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।