डा.सिके राउत नेतृत्वको जनमत पार्टीले गणतन्त्र दिवस मनाउने र नौलो गणतन्त्र निर्माणको अवधारणा बनाउने भएको छ । गणतन्त्र दिवसको अवसरमा भोलि पार्टीले मुलुकभरका पालिका र वडास्तरमा प्रभातफेरि, सरसफाई, मैनबत्ती प्रज्जवलनजस्ता कार्यक्रम गर्ने जनाएको छ ।
इतिहासकै महत्वपूर्ण संघर्षबाट गणतन्त्र प्राप्त भएको र यसले नागरिकलाई देशको साँचो मालिक बनाएको जनमतको भनाइ छ । यद्यपि, वर्तमान व्यवस्थामा देखिएका कमीकमजोरी समाधानका लागि ‘नौलो गणतन्त्र’ निर्माण अवधारणा अघि बढाएको जनतमले जनाएको छ ।
‘जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, संवैधानिक निकायका प्रमुखहरु पनि प्रत्यक्ष निर्वाचित हुने, विज्ञहरुद्वारा मन्त्रालय चलाइने र सामाजिक लोकतन्त्रको आर्थिक नीति अवलम्बन गर्ने अवधारणा नौलो गणतन्त्रले लिएको छ । यो गणतन्त्र दिवसको अवसरमा हामी सबै मिलेर यथार्थपरक र जनमुखी नौलो गणतन्त्र निर्माणतर्फ अगाडि बढौं,’ विज्ञप्तिमा भनिएको छ ।