काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न अझै बाँकी रहेका घटकहरूलाई पनि सहकार्य र एकतामा ल्याउनुपर्ने बताएका छन् ।
शनिबार राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रतिक्रान्तिका गतिविधि, राष्ट्रिय संकट र कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यसको सामना गर्न कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने बताए ।
उनले गत वर्ष देखिएका घटनापछि राष्ट्रको स्वतन्त्रता र स्वाधीनता, क्रान्तिका उपलब्धि तथा कम्युनिस्ट र वामपन्थी आन्दोलनको रक्षा गर्ने पहलकदमी आफूहरूले लिनुपर्ने ठानेर माधवकुमार नेपालसँग छलफल गरी एकता र ध्रुवीकरणको पहल सुरु गरेको बताए ।
‘पहिलो कुरा त हामीले नेपालमा गत साल जुन प्रतिक्रान्तिको गतिविधि देख्यौँ, लगत्तै पछि सबभन्दा पहिला अब नेपालमा क्रान्तिका उपलब्धिको रक्षा गर्ने कुरा, यो राष्ट्रको स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्ने कुरा, कम्युनिस्ट आन्दोलन र वामपन्थी आन्दोलनलाई रक्षा गर्ने कुराको पहलकदमी सबभन्दा पहिला हामीले नै लिनुपर्छ भन्ने ठानेर कमरेड माधवकुमार नेपाल र मैले मुख्य रूपमा धेरै छलफल गरेर अब एकता र ध्रुवीकरणको पहल हामीले नै गर्नुपर्छ भनेर तपाईँहरूलाई थाहा छ,’ उनले भने ।
प्रचण्डले भदौ २४ गतेको विध्वंसपछि घनीभूत छलफल गरेर कार्तिक १९ गते विभिन्न वामपन्थी घटकहरूको राष्ट्रिय सम्मेलनमार्फत नेपाली कम्युनिस्ट पार्टी गठनको प्रक्रिया सुरु गरिएको बताए । उक्त एकता अभियान विस्तार हुँदै गएको र विभिन्न घटकहरू एउटै झन्डामुनि आउन थालेको उनको भनाइ छ ।
‘हामीले भदौ २४ गतेको विध्वंसपछि घनीभूत छलफल गरेर कार्तिक १९ गते दशवटा विभिन्न वामपन्थी घटकहरूको आयोजनामा राष्ट्रिय सम्मेलन गरेर नेपाली कम्युनिस्ट पार्टी गठन गर्ने कामको सुरुवात गर्यौँ,’ उनले भने ।
उनले विगतमा पनि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै समाजवादको यात्रा अघि बढाउने प्रयास गरिएको स्मरण गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताले जनतामा ठूलो उत्साह पैदा गरेको बताए । उक्त एकतापछि निर्वाचनमा झन्डै दुई तिहाइ जनमत प्राप्त भएको उल्लेख गर्दै कम्युनिस्टहरू एकताबद्ध हुँदा जनतामा विश्वास र उत्साह बढ्ने उनको भनाइ छ ।
उनले भने, ‘विगतमा पनि हामीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र देशमा समाजवादको यात्रालाई सहज ढङ्गले अगाडि बढाउने जमर्को गरेकै हो । हामीले कम्युनिस्ट आन्दोलनको एकताको झन्डा उठाएपछि त्यतिबेलाका मुख्यतः नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुइटाको बीचमा एकता हुँदा केन्द्रदेखि तलसम्म, पार्टीभित्रदेखि बाहिरसम्म आम उत्साह र उभारको स्थिति देखापर्यो।’
उनले थप भने, ‘हामी निर्वाचनमा जाँदा त्यो सहकार्य र कार्यगत एकता जो पार्टी एकताको उद्देश्यद्वारा गरिएको थियो, त्यसको पक्षमा झन्डै दुई तिहाइ जनमत देखापर्यो र हामी विजयी भयौँ । कम्युनिस्टहरू एकताबद्ध हुँदा जनतामा आउने आत्मविश्वास, उत्साह, उभार कति ठुलो हुँदो रहेछ भन्ने त्यतिबेला राम्रोसँग देखिएकै थियो।’
तर तीन वर्ष नबित्दै उक्त एकता जोगाउन नसकिएको उनले स्वीकार गरे । विगतको असफलताबाट पाठ सिकेर अहिले पुनः एकताको पहल गरिएको भन्दै उनले वर्तमान परिस्थितिमा कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।
उनले विभिन्न कम्युनिस्ट घटकलाई एउटै झन्डामुनि ल्याउन सफल भए पनि एकता पूर्ण नभएको बताए । बाँकी रहेका घटकहरूलाई समेत सहकार्य र एकतामा ल्याएर वर्तमान राजनीतिक जटिलताको सामना गर्नुपर्ने उनको भनाइ छ ।
प्रचण्डले नेकपा एमालेसँग सहकार्यका लागि सहमति भएको र त्यसअनुसार प्रदेशहरूमा सरकार गठन भइरहेको जानकारी दिए । नेकपा मसालसँग पनि सहकार्य गरेर अघि बढ्ने सहमति भएको भन्दै अन्य राजनीतिक शक्तिसँग पनि संवाद जारी रहेको उनले बताए ।
‘केही समय पहिले मात्रै नेकपा एमाले र हाम्रो पार्टीको बिचमा सहकार्यको निम्ति भनेर एउटा सहमति गरिएको छ । त्यसैअनुसार प्रदेशहरूमा सरकारहरू गठन पनि भइराख्या छन् । त्यसैगरी नेकपा मसालसँग पनि सहकार्य गरेर जाने भनेर फेरि अर्को सहमति पनि हामीले गरिएको छ । प्रदेश सरकार गठनको बेलामा उहाँहरू पनि हामीसँग जुट्नुभएको छ र हामी अरूसँग पनि लगातार संवादमा छौँ,’ उनले भने ।
उनले कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यप्रति आफूहरू अझै गम्भीर रहेको उल्लेख गर्दै सहकार्य, संवाद र ध्रुवीकरणको अभियानलाई निरन्तर अघि बढाउने बताए ।
