जेन–जी सहिदका बालबालिका पढाइका लागि त्रिपक्षीय सम्झौता

जेन–जी आन्दोलनका सहिदका बालबालिकाको पढाइ सुनिश्चित गर्न गोल्याण ग्रुप, विद्यालय र अभिभावकबीच त्रिपक्षीय समझदारी भएको छ। समूहले घोषणा गरेअनुसार वार्षिक डेढ करोड रुपैयाँ बराबरको शैक्षिक बजेट विनियोजन गर्ने जनाएको छ।

पहिलो चरणमा ६ सहिद परिवारका ९ बालबालिकाका लागि सम्झौता गरिँदै प्रतिविद्यार्थी वार्षिक ४ लाख ८० हजार रुपैयाँसम्म खर्च व्यहोर्ने व्यवस्था गरिएको छ। छात्रवृत्तिमा मासिक शुल्कदेखि पुस्तक–स्टेशनरी, पोशाक, खानाखाजा, यातायात र अतिरिक्त क्रियाकलापसमेत समावेश छन्। रकम विद्यालयले जारी गर्ने बिलअनुसार गोल्याण ग्रुपले सोझै भुक्तानी गर्ने जनाइएको छ।

गोल्याण ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्याणले सहिद परिवारका बालबालिकाको शिक्षा “व्यवसायिक होइन, मन–मुटुबाट आएको प्रतिवद्धता” भएको बताउदै “यसले गुणस्तरीय शिक्षा मात्र होइन, कक्षाभन्दा बाहिर पनि उनीहरूको क्षमता विकासको अवसर सुनिश्चित गर्छ,” उनले भने।

समूहले कुल २४ परिवारका ३२ बालबालिकालाई शैक्षिक छात्रावृत्ति दिने तयारी गरेको छ। योग्यता नपुगेका परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम पनि अघि बढाइने कर्पोरेट अफेयर्स प्रमुख ज्योति गैह्रेले बताइन्।

सम्झौतामा विद्यालयहरूले छात्रवृत्ति पाएका बालबालिकालाई भेदभावबिना गुणस्तरीय शिक्षा दिने, अभिभावकले पढाइ–अनुकूल वातावरण प्रदान गर्ने र विद्यार्थीले नियमित उपस्थितिसहित शैक्षिक स्तर कायम राख्ने दायित्व तोकिएको छ।

विद्यालयका प्रतिनिधिहरुले गोल्याण ग्रुपको सामाजिक उत्तरदायीत्वको प्रशंसा गर्दै बालबालिकाको भविष्यलाई केन्द्रमा राखेर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

कार्यक्रमका तस्बिरहरु :