राहदानी विभाग अगाडि आफ्नै जिउमा आगो लगाउने गणेशलाई सरकारद्धारा भारत

सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै जिउमा आगो लगाउँदा गम्भीर घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउने भएको छ।

हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टिकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ (एआईआईएमएस) लैजाने तयारी गरिएको छ।

बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू बिहीबार वीर अस्पताल पुगेका थिए।

उनीहरूले अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिएका थिए।

चिकित्सकसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा घाइते नेपालीलाई थप उपचारका लागि भारत लैजाने प्रक्रिया अघि बढाइएको छ।