कामना सेवालाई पुनः ‘साफा’ सम्मान

  • Clock icon
    २०८२ मंसिर १२, शुक्रबार

कामना सेवा विकास बैंक “साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२४” बाट सम्मानित भएको छ। बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्रअन्तर्गत प्रदान गर्ने “सर्टिफिकेट अफ मेरिट अवार्ड” प्राप्त गर्न सफल भएको हो।

साफाले आर्थिक वर्ष २०२३/२४ का लागि तयार गरिएका वार्षिक प्रतिवेदनहरूका आधारमा वित्तीय पारदर्शिता, जवाफदेहिता र सशासनको मूल्याङ्कन गरी अवार्ड प्रदान गर्दै आएको छ। सोही मूल्याङ्कनमा उत्कृष्ट ठहरिँदै बैंकले यो सम्मान हात पारेको हो। बैंकले आफ्नो १८औँ वार्षिक साधारणसभामा प्रस्तुत गर्न तयार गरेको वित्तीय विवरण अत्यन्तै स्पष्ट, सूचनाप्रद र व्यवस्थित रूपमा पेश गरिएको कारण अवार्ड प्राप्त भएको बताइएको छ।

उक्त सम्मान पाकिस्तानको इस्लामाबादमा आयोजित समारोहमा बैंकलाई प्रदान गरिएको हो। विकास बैंकले गत वर्ष पनि साफा अवार्ड जितेको थियो, जसले लगातार उत्कृष्ट वित्तीय रिपोर्टिङको पहिचानलाई थप मजबुत बनाएको छ।

साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्ट (IFAC) को क्षेत्रीय साझेदार हो। यसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, अफगानिस्तानसहित दक्षिण एसियाका ११ चार्टर्ड एकाउन्टेन्ट संस्थाहरू समावेश छन्। साफाले प्रत्येक वर्ष दक्षिण एसियामा प्रकाशित वित्तीय प्रतिवेदनहरूको प्रतिस्पर्धात्मक मूल्याङ्कन गरी विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ।

यसअघि पनि कामना सेवा विकास बैंकको सोही वित्तीय प्रतिवेदन चार्टर्ड एकाउन्टेन्ट्स संस्थान नेपालबाट प्रदान गरिने “राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२४” अन्तर्गत वित्तीय सेवा क्षेत्रमा “गोल्ड अवार्ड” बाट सम्मानित भइसकेको छ।

  • Clock icon
    २०८२ मंसिर १२, शुक्रबार