‘रियल इस्टेट ब्रोकर’ लाइसेन्सकाे समय थपिँदा आवेदनमा सहजता

भूमि व्यवस्था तथा अभिलेख विभागले ‘रियल इस्टेट ब्रोकर’ लाइसेन्सका लागि आवेदन दिने म्याद थप गरेको छ। विभागले सोमबार सूचना जारी गर्दै फर्म, कम्पनी वा संस्थालाई आवश्यक प्रक्रिया पूरा गर्न थप समय उपलब्ध गराएको हो।

मालपोत ऐनअनुसार घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य हुने व्यवस्था भएपछि विभागले गत असोज २७ मा राजपत्रमार्फत पहिलो चरणमा महानगरपालिका तथा उपमहानगरपालिका क्षेत्रमा कार्यान्वयन सुरु हुने जनाएको थियो। त्यसअनुसार कात्तिक १३ मा अर्को सूचना जारी गरी ३० दिनभित्र आवेदन दिन आग्रह गरिएको थियो। उक्त म्याद मंसिर १२ मा समाप्त भएको थियो।

आवेदन दिने संख्या बढ्दै गएर आवश्यक कागजात तयारीमा समय लागिरहेको गुनासो आएपछि विभागले मंसिर १३ देखि थप १५ दिनका लागि म्याद विस्तार गरेको जनाएको छ। अब इच्छुक फर्म, कम्पनी वा संस्थाले यही मंसिर २७ गतेसम्म आवेदन दर्ता गराउन सक्नेछन्।

विभागले समय थपिएसँगै घरजग्गा कारोबार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।