नागीमा जेष्ठ नागरिक सम्मानित

तेम्केमैयुङ गाउँपालिका–४, नागीमा समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने ३० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। सोमबार आयोजना गरिएको कार्यक्रममा १०३ वर्षीय इन्द्रबहादुर राईसहित ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई सम्मानपत्र र न्यानो कपडा प्रदान गरिएको हो।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य विनोद वान्तवाले सबै तहका सरकारी निकायहरू जेष्ठ नागरिकको हेरचाह, उपचार, सुरक्षासहित अधिकार सुनिश्चिततामा गम्भीर हुनुपर्ने आवश्यकता औँल्याए।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जेष्ठ नागरिकहरू राष्ट्रको गौरव भएकाले यस्ता कार्यक्रमहरूले भावी पुस्तालाई संस्कृतिको शिक्षासमेत दिने विश्वास व्यक्त गरे।

साथै, वडा अध्यक्ष हर्कराज राईले जेष्ठ नागरिकलाई सम्मान गर्नु वडाको मात्र नभई वडा वासीकै जिम्मेवारी र कर्तव्य भएको बताउँदै यस्ता कार्यक्रम निरन्तर अघि बढाइने प्रतिबद्धता जनाए।