धुलिखेलको पहाडी सौन्दर्य, शान्त वातावरण र उच्चस्तरीय आतिथ्य सेवाकै कारण पाँचतारे दुसित थानी हिमालयन रिसोर्ट को व्यापार एक वर्षमै उल्लेखनीय रूपमा बढेको छ। संचालनको पहिलो वर्षमै रिसोर्टले दोहोरो अंकको मात्र होइन, उच्च दोहोरो अंकको उछाल हासिल गरेको छ।
इक्रा नेपालले सार्वजनिक गरेको तथ्यांकअनुसार, रिसोर्टले सन् २०२५ मा १८ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ, जुन गत वर्षको १२ करोड १० लाख रुपैयाँको तुलनामा ५३.१७ प्रतिशत वृद्धि हो। पहिलो वर्षमै यस्तो व्यापार भएकोले रिसोर्टको बजार माग अत्यधिक रहेको पुष्टि हुन्छ।
दुसित थानीसँग व्यवस्थापन साझेदारी गर्दै सेवा विस्तार गरिरहेको यस रिसोर्टले सन् २०१४ मा ओमस्टोन होटल नाममा दर्ता भएर यात्रा सुरु गरेको थियो। रिसोर्टले २०२३ जुलाईमा २८ कोठासहित सेवा सुरु गरेको थियो भने २०२४ अप्रिलमा थप १८ भिल्ला सञ्चालनमा ल्यायो। सन् २०२५ मार्चदेखि ५४ कोठा र १८ भिल्लासहित रिसोर्ट पूर्ण क्षमतामा चलिरहेको छ।
लक्जरी कोठाको निर्माणमा मात्र ४ करोड ३० लाख रुपैयाँ लगानी गरिएको छ। प्रारम्भिक अनुमानअनुसार प्रति कोठा लागत २ करोड ६० लाख भनिए पनि विस्तारपछि लागतमा परिमार्जन गरिएको कम्पनीले बताएको छ। हाल रिसोर्टको प्रति रात्री कोठा मूल्य १९ हजार रुपैयाँ तोकिएको छ।
सेवा विस्तारसँगै व्यवसायिक संरचना थप मजबुत बनाउन कम्पनीले आइपीओ ल्याउने तयारी समेत अघि बढाएको छ। कम्पनीमा बिष्णु मोर, राधिका भेगिटेबल्स आयाल, राजेन्द्रकुमार काब्रा, आशिषकुमार गोयल र रमेश हमालको स्वामित्व छ। यीमध्ये रमेश हमाल नेपाल धितोपत्र बोर्ड (सेबोन)का पूर्वअध्यक्ष पनि हुन्।
रिसोर्टले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५६ करोड ५० लाख रुपैयाँको क्रेडिट रेटिङ गराइसकेको छ। धुलिखेलको पर्यटन आकर्षण र अन्तर्राष्ट्रियस्तरको सेवा गुणस्तरले दोस्रो वर्षमा रिसोर्टको व्यापार अझै उक्लने अनुमान गरिएको छ।
