भारतीय वायुसेनाले आकाशमै इन्धन भर्ने ६ वटा रिफ्युलिङ बिमान खरिद गर्ने निर्णय गरेको छ। भारतीय मिडिया RNA का अनुसार, इजरायली सरकारी स्वामित्वको विमान निर्मातासँग ८ हजार करोड भारतीय रूपैयाँ (८० अर्ब नेपाली रूपैयाँ) बराबरको सम्झौता अन्तिम चरणमा पुगेको छ।
धेरै वर्षको अध्ययन र मूल्यांकनपछि इजरायलको एयरोस्पेस कम्पनी मात्र योग्य आपूर्तिकर्ता बनेको छ। सम्झौताअन्तर्गत इजरायली कम्पनीले प्रयोगमा आएका बोइङ ७६७ जहाजहरूलाई उच्च प्रविधि भएका हवाई इन्धन भर्ने विमानमा रूपान्तरण गर्नेछ र त्यसपछि ती विमान भारतीय वायुसेनालाई हस्तान्तरण गरिनेछ।
कम्पनीले आफ्नो उत्पादनमा लगभग ३० प्रतिशत भारतीय सामग्री प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ।
हाल भारतीय वायुसेनाका लागि रुसी मूलका ८ आईएल-७८ विमान हवाई इन्धन भर्ने कार्य गर्दै आएका छन्। ती विमानले लडाकु विमानहरूलाई लामो दूरीसम्म उडान क्षमतासहित सञ्चालन गर्न सहयोग गर्दै आएका छन्।
नयाँ रिफ्युलिङ विमान आवश्यक हुनुको कारण, भर्खरै थपिएका आधुनिक लडाकु विमानहरूको दिगो सञ्चालन सुनिश्चित गर्नु रहेको वायुसेना अधिकारीहरूले बताएका छन्। पुराना विमान क्रमशः हट्दै गएपछि, लामो दूरीसम्म प्रहार क्षमता बढाउँदै थप विमान आवश्यक भएको उल्लेख छ।
