रसुवागढी जलविद्युत पुनःचालु: पहिलो युनिटबाट ३७ मेगावाट उत्पादन

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अग्रसरतामा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिकरूपमा पुनः सञ्चालनमा आएको छ। गत असार २४ गते ल्येन्दे खोलामा हिमताल फुटेर आएको बाढीले बाँधलगायत हेडवक्र्समा ठूलो क्षति पुर्‍याएपछि बन्द रहेको आयोजना शनिबारदेखि फेरि उत्पादनमा आएको हो।

हेडवक्र्स मर्मतपछि अस्थायी रूपमा नदीको पानी पथान्तरण (डाइभर्सन) गरी विद्युतगृहमा रहेका तीन मध्ये एक युनिट सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ। १११ मेगावाट क्षमताको आयोजनाको एक युनिटले ३७ मेगावाट विद्युत उत्पादन गरिरहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बाँकी दुई युनिट पनि एक महिनाभित्र सञ्चालनमा ल्याइनेछ। साथै, हेडवक्र्स क्षेत्रको बाँकी मर्मत तथा पुनर्निर्माण कार्य आगामी वर्षायाम अघि नै पूरा गर्ने गरी काम तीव्र रूपमा भइरहेको छ।

उनले भने, “पदाधिकारी र कर्मचारीको अथक प्रयासका कारण आयोजनालाई पुनः सञ्चालनमा ल्याउन सफल भयौं। यसले हिउँदयामको विद्युत माग व्यवस्थापनमा ठूलो सहजता ल्याउने छ।”

बाढीले पुर्‍याएको क्षति

असारमा आएको तीव्र बाढीले—

  • पानीसँग बगेर आउने काठ, झार, बोटबिरुवालाई रोक्ने मेसिन,

  • गेट तथा हेडवक्र्सका उपकरण,

  • हेडवक्र्स नियंत्रण भवन (जहाँ दुई मिटरभन्दा बढी लेदो थुप्रिएको थियो),

  • ठूला ढुंगासहित सुरुङतर्फ पानी पठाउने संरचना,

  • र टेलरेस क्षेत्रमा रहेको टर्वाइन तलाको संरचना—
    ठूलो रूपमा क्षति पुर्‍याएको थियो।

त्यसबेला आयोजनामा कार्यरत २२ जना कर्मचारीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो भने कर्मचारी आवास क्षेत्र पूर्ण रूपमा बगाएको थियो। बाढीका कारण स्याफ्रुबेंसी–आयोजना सडकखण्ड पनि पहिरोले विभिन्न ठाउँमा अवरुद्ध भएको थियो।

उत्पादन र आम्दानी

रसुवागढी जलविद्युतले १६ पुस २०८१ देखि व्यवसायिक उत्पादन सुरु गरेको थियो। तर असारको बाढीपछिदेखि सञ्चालन रोकिएको थियो। आयोजना पूर्ण क्षमतामा चलेपछि वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुनेछ। विद्युत बिक्रीबाट वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने अनुमान छ।