२४ मंसिर – नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबिच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि नवीकरण सम्झौता भएको छ । सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र त्रिवि व्यवस्थापन संकायका डिन प्राडा महानन्द चालिसेले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापछि त्रिविसँगको यस कार्यक्रम सन् २०२८ सम्म निरन्तर रूपमा सञ्चालन हुनेछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभर सामाजिक उद्यमशीलताको प्रवद्र्धन र सशक्तीकरण गर्ने उद्देश्यले विगत चार वर्षदेखि नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ । सम्झौता नवीकरणले दुवै संस्थाबिचको सहकार्यलाई अझ मजबुत बनाउँदै सामाजिक उद्यमशीलता प्रवद्र्धनमा ठुलो सहयोग पुगेको सिइओ ज्ञवालीले जानकारी दिए ।
नबिल एसएसईले समाजमा पारेको सकारात्मक प्रभाव निकै महत्वपुर्ण रहेको बताउँदै उनले भने, ‘नबिल बैंक सधैँ स्थानीय अर्थतन्त्रमा मूल्य थप्ने, समुदायमा सकारात्मक परिवर्तन ल्याउने, र विद्यार्थी तथा उद्यमीलाई आफ्नो क्षमता विस्तार गर्न सहयोग गर्ने पहलमा साथ दिँदै आएको छ र यस कार्यक्रमलाई निरन्तर अगाडि बढाउनेछौँ ।’ त्यसैगरी, डिन प्राडा चालिसेले त्रिविको व्यवस्थापन संकाय पाठ्यक्रमलाई सान्दर्भिक र प्रयोगात्मक शिक्षातर्फ रूपान्तरण गर्दै उद्यमशीलता विकास गर्ने दिशामा अघि बढेको बताए । सामाजिक उद्यमशीलता विकासलाई सुदृढ गर्ने उद्देश्यले बैंकले नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
