गत २४ भदौमा जेने–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण बन्द भएको बौद्धस्थित हायात रिजेन्सी होटलले आफ्ना कर्मचारीलाई होटल पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक दिने सहमति गरेको छ।
होटल व्यवस्थापन र कर्मचारी प्रतिनिधिहरूबीच भएको छलफलपछि यस्तो निर्णय भएको हो। होटलले पुनर्निर्माणमा कम्तीमा एक वर्ष लाग्ने भन्दै, यस अवधिभर कर्मचारीलाई नेपाल सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत तलब उपलब्ध गराउनेछ। साथै सामाजिक सुरक्षा कोषमा पनि सोही अनुपातमा योगदान गर्ने व्यवस्था गरिएको छ।
होटलले मर्मत–सम्भार पूरा भएपछि सहमतिमा बसेका कर्मचारीलाई पुनः रोजगारीमा फर्काउने योजना बनाएको छ। व्यवस्थापकका अनुसार अधिकांश कर्मचारीले यस सहमतिलाई सकारात्मक रूपमा स्वागत गरेका छन्। सहमतिमा नआएका कर्मचारीको हकमा भने श्रमिक कटौती प्रक्रिया अपनाइने जनाइएको छ।
व्यवस्थापनले आगजनीका कारण भएको ठूलो आर्थिक र भौतिक क्षति पूर्णरूपमा मर्मत नगरी होटल सञ्चालन असम्भव रहेको भन्दै, पुनर्निर्माण र कर्मचारी सुरक्षामा प्राथमिकता दिइएको जनाएको छ।
