नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ मा खेलको हरेक चौका र छक्काबाट कफीका विरुवा रोपिने भएको छ। यस वर्षको एनपीएलको एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले खेलमा हरेक चौकामा ४ वटा, हरेक छक्कामा ६ वटा कफीका विरुवा रोप्ने घोषणा गरेको छ।
कलेजका अध्यक्ष लक्ष्मण केसीका अनुसार, “कफी खेतीले स्थानीय अर्थतन्त्र बलियो बनाउन, रोजगार सिर्जना गर्न तथा ग्रामीण समुदायसँग कलेजको सहकार्य थप सुदृढ बनाउन मद्दत गर्नेछ।”
हाल रोपाइँ हुने ठाँउ भने निश्चित भइसकेको छैन। कलेजले उपयुक्त भूभाग पहिचानका लागि मूल्यांकन कार्य जारी राखेको जनाएको छ।
कलेजले यस अभियानलाई शैक्षिक गतिविधि मात्र नभई ग्रामीण विकास र स्थानीय उत्पादन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले सुरु गरेको बताएको छ। कफी खेतीमार्फत ग्रामीण कृषकलाई प्रत्यक्ष सहयोग, तालिम र सम्भावित बजार पहुँच उपलब्ध गराउने योजना समेत कलेजले अघि सारेको छ।
गत वर्ष प्रेसिडेन्सियल ग्राजुएट स्कुलले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ११ सय विरुवा रोपेको थियो। त्यसबेला हरेक चौकामा १ र हरेक छक्कामा २ विरुवा रोपिएको थियो।
थापागाउँ, बानेश्वरस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलले अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन राख्दै व्यवस्थापन र आइटी संकायमा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ।
यो पहलले खेलकुद र शिक्षा मार्फत ग्रामीण विकासमा योगदान पुर्याउने नयाँ मार्ग खोल्ने विश्वास व्यक्त गरिएको छ।
