काठमाडौं । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले पछिल्लो समय जेनजीहरुले चुनाव हुन दिँदैनौं भनेर स्वर परिवर्तन गरेको बताएका छन् ।
बुधबार ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अन्तरिम सरकारको जिम्मेवारी भनेको निर्वाचन गराउनु रहेको बताउँदै कुनैपनि हालतमा निर्वाचन हुनुपर्नेमा जोड दिए ।
उनले भने,‘अहिलेको सरकारको मुख्य काम भनेको फागुन २१ गतेको निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो । मलाई यो कुराले चिसो पसेको छ कि जेनजीले आमा भन्नुहुन्छ । तर यो पछिल्लो कालखण्डमा आएर जेनजीले अलिकति स्वर परिवर्तन गरेको छ । चुनाव हुन दिन्न भनिरहेको छ । यो भन्न पाइँदैन ।चुनाव गर्ने पर्छ । जेनजीले यो चुनाव गर्न दिँदैनौं भन्ने काम गर्न हुँदैन । जेनजीहरु साना भाई बहिनीहरु छन् बुद्दी पलाएको छैन,पलाओस् । आफ्नो आमाले गर्न लागेको सफल काममा सहयोग गर्नैैपर्छ ।’
त्यस्तै,उनले ललितपुर महानगरपालिकामा अहिलेसम्मको इतिहासमा नै अहिलेको जस्तो जनप्रतिनिधिहरुको मिलाप कहिलेपनि नरहेको बताए । जनप्रतिनिधिहरुको मिलापले नै महानगरपालिकामा प्रत्येक दिन नयाँ काम भइरहेको धारणा राखे । ‘जनप्रतिनिधिहरुको मिलाप कहिले पनि थिएन । जनप्रतिनिधि र कर्मचारीहरुबीचको मित्रताको जुन फ्युजन छ त्यसको कारण महानरगपालिकाले प्रत्येक दिन नयाँ काम गर्न सफल भएको छ,’उनले भने ।
मेयर महर्जनले ललितपुर महानगरपालिकामा भएका सबै नयाँ कामहरु अरुले पनि अनुसरण गर्न मिल्ने काम रहेको दावी गरे ।
