निजी क्षेत्रको मनोबल बढाउन उद्योग संगठन मोरङको सरकारसँग माग

काठमाडौँ। उद्योग संगठन मोरङले सरकारसँग निजी क्षेत्रको मनोबल बढाउन र उद्योग-व्यवसायमैत्री वातावरण निर्माण गर्न माग गरेको छ । संगठनका अध्यक्ष नन्दकिशोर राठीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले काठमाडौँमा अर्थमन्त्री रामेश्वर खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा र श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीलाई भेटेर ९ बुँदे सुझाव बुझाएको हो ।

भेटका क्रममा अध्यक्ष राठीले मुलुकको आर्थिक मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रलाई सरकारले स्पष्ट र सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए । ‘प्रक्रियागत जटिलताको अन्त्य, शान्ति–सुरक्षाको प्रत्याभूति र लगानीमैत्री वातावरण नै अहिलेको मुख्य आवश्यकता हो,’ उनले भने ।

 मुख्य ९ बुँदे सुझावहरू:-

विद्युत आपूर्ति: आगामी सुख्खायाममा उद्योगहरूलाई निर्बाध विद्युत आपूर्तिको सुनिश्चितता गर्नुपर्ने र निर्माणाधीन बर्जु सब(स्टेसन तत्काल सम्पन्न गर्नुपर्ने ।

पूर्वाधार सुधार: सुनसरी–मोरङ–कटहरी औद्योगिक करिडोरका जीर्ण ट्रान्समिसन लाइनको मर्मत गर्नुपर्ने र हुलाकी सडक खण्डको कटहरी क्षेत्रको काम अविलम्ब पूरा गर्नुपर्ने ।

ऐन संशोधन: नयाँ भन्सार ऐन २०८२ मा रहेका उद्योगीका लागि नकारात्मक प्रभाव पार्ने प्रावधानहरू तत्काल संशोधन गर्नुपर्ने ।

प्रशासनिक सरलीकरण: व्यवसाय दर्ता, नवीकरण, भ्याट फिर्ता तथा बन्डेड वेयरहाउसका प्रक्रियालाई झन्झटमुक्त र छरितो बनाउनुपर्ने ।

भयमुक्त वातावरण:  निजी क्षेत्रको योगदानलाई कदर गर्दै भयमुक्त वातावरणमा व्यवसाय गर्ने अवस्था सिर्जना गर्नुपर्ने ।

कार्गो रेल सेवा:  विराटनगर कार्गो रेल सेवाको ह्यान्डलिङ शुल्क परिमार्जन गरी व्यावसायिक रूपमा नियमित सञ्चालनमा ल्याउनुपर्ने ।

स्वदेशी उत्पादनको प्रवर्द्धन: सार्वजनिक निकायहरूमा अनिवार्य रूपमा स्वदेशी उत्पादनको प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्ने ।

नगद अनुदान:  निर्यातमा प्रदान गरिँदै आएको नगद अनुदानलाई निरन्तरता दिँदै नयाँ कार्यविधिमार्फत निवेदन लिने प्रक्रिया सुरु गर्नुपर्ने।

बजार चलायमान: समग्र बजारलाई गति दिन पूँजीगत तथा सार्वजनिक खर्च वृद्धि गर्नुपर्ने ।

छलफलका क्रममा मन्त्रीहरूले उद्योगीका मागहरूलाई सकारात्मक रूपमा लिएको अध्यक्ष राठीले जानकारी दिए । मन्त्रीहरूले तत्काल सम्बोधन गर्न सकिने विषयहरूलाई यथाशीघ्र अघि बढाउने र नीतिगत सुधारका लागि प्रक्रिया थाल्ने आश्वासन दिएका छन् ।

प्रतिनिधिमण्डलमा संगठनका निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू सुरेन्द्र गोल्छा र विपिन कावरा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार