सालपा विकास बैंकले सर्वसाधारणका लागि साधारण शेयर (IPO) को दोस्रो चरण बिक्री पुस १६ गतेदेखि सुरु गर्ने भएको छ। यसअन्तर्गत बैंकले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गर्ने योजना बनाएको छ।
बैंकले यसमा ५ प्रतिशत बराबर ८६ हजार १९४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ०.५ प्रतिशत बराबर २६ हजार ११९ कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरेको छ।
यसअघि, नेपाल सरकारको श्रम स्वीकृति प्राप्त वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरिएको आइपीओ शुक्रबार बाँडफाँट गरिसकेको छ। आइपीओमा ६७ हजार ६५५ जनाको आवेदन परेकोमा ६७ हजार ६३७ जनाको आवेदन मात्र स्वीकृत भएको थियो, बाँकी आवेदन रीतपूर्वक नपरेको कारण रद्द गरिएको थियो।
बाँडफाँट प्रक्रियामा गोलाप्रथाबाट १७ हजार २३८ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। तीमध्ये ८ जनाले थप १/१ कित्ता गरी ११ कित्ता शेयर प्राप्त गरेका छन्। सालपा विकास बैंकको IPO को बिक्री प्रबन्धक मुक्तिनाथ विकास क्यापिटल रहेको छ।
