चीनको वैदेशिक व्यापार मुनाफा इतिहासकै बढी

चिन

काठमाडौँ । चीनको वैदेशिक व्यापार मुनाफा (Trade Surplus)  इतिहासमै पहिलोपटक १० खर्ब अमेरिकी डलर नाघेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगाउन सक्ने सम्भावित भन्सार शुल्कबाट जोगिन चिनियाँ उत्पादकहरूले गैर–अमेरिकी बजारमा निर्यात तीव्र बनाएपछि यो ऐतिहासिक सफलता मिलेको हो ।

भन्सार तथ्याङ्कअनुसार, चीनले युरोप, अस्ट्रेलिया र दक्षिणपूर्वी एसियाली मुलुकहरूमा आफ्नो निर्यात उल्लेख्य रूपमा बढाएको छ । तर, अमेरिकातर्फको निर्यात भने अघिल्लो वर्षको तुलनामा झन्डै एक तिहाइले घटेको छ ।

निर्यातको मार्ग परिवर्तन क्यापिटल इकोनोमिक्सका चीन अर्थशास्त्री जिचुन ह्वाङका अनुसार अमेरिकी भन्सार शुल्कको नकारात्मक प्रभाव कम गर्न चीनले व्यापारको मार्ग परिवर्तन गरिरहेको छ । “चीनको निर्यात अझै लचिलो रहनेछ र अर्को वर्ष पनि विश्वव्यापी बजार हिस्सामा यसको पकड बलियो हुने देखिन्छ,” ह्वाङले भने।

नोभेम्बर महिनामा चीनको समग्र निर्यात वार्षिक रूपमा ५.९ प्रतिशतले बढेको छ । यो अक्टोबरको १.१ प्रतिशत संकुचनको तुलनामा ठूलो सुधार हो ।

बजार विविधीकरण र चुनौती सन् २०२४ को अमेरिकी निर्वाचनमा ट्रम्पको विजयपछि चीनले दक्षिणपूर्वी एसिया र युरोपेली संघसँगको व्यापारिक सम्बन्धलाई थप प्राथमिकता दिएको छ । चिनियाँ कम्पनीहरूले कम भन्सार महसुलको फाइदा लिन विभिन्न देशहरूमा नयाँ उत्पादन केन्द्रहरू समेत स्थापना गरिरहेका छन् ।

हाल चिनियाँ सामानमा औसत अमेरिकी भन्सार शुल्क ४७.५ प्रतिशत रहेको छ । अर्थशास्त्रीहरूका अनुसार यो ४० प्रतिशतको ‘मार्जिन सीमा’ भन्दा बढी भएकाले चिनियाँ निर्यातकर्ताहरूको नाफामा केही दबाब परेको छ ।

आन्तरिक मागमा अझै कमजोरी बाह्य व्यापारमा उल्लेख्य सफलता मिले पनि चीनको आन्तरिक बजार भने अझै सुस्त देखिएको छ । विशेषगरी घरजग्गा व्यवसायमा आएको मन्दीका कारण तामा जस्ता निर्माण सामग्रीको आयात घटेको छ । आईएनजीका मुख्य अर्थशास्त्री लिन सोङका अनुसार आन्तरिक मागलाई आर्थिक वृद्धिको मुख्य आधार बनाउने चीनको प्रयास सफल हुन अझै केही समय लाग्ने देखिन्छ ।