काठमाडौं, ९ पुस — नेपालमा कस्मेटिक, सौन्दर्य तथा वेलनेस क्षेत्रका व्यवसायी, ब्रान्ड र सेवाप्रदायकलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘कस्मेटिका २०२५’ आयोजना हुने भएको छ। यो भव्य ट्रेड शो आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेट सेन्टरमा सञ्चालन हुनेछ।
हाउस अफ राजकर्निकारद्वारा आयोजित एक्स्पोलाई नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालले सहकार्य गरेका छन्। वाव म्यागजिन मिडिया पार्टनर, वेबसर्फर आईएसपी पार्टनर र सागर आर्ट सर्भिस प्रिन्ट पार्टनर रहेका छन्।
कस्मेटिका २०२५ मा स्वदेशी तथा विदेशी कस्मेटिक ब्रान्ड, स्किन र हेयर केयर कम्पनी, वेलनेस ब्रान्ड, क्लिनिक, ब्यूटी स्कूल तथा प्रविधिसँग सम्बन्धित संस्थाहरूको सहभागिता रहनेछ। बी-टु-बी र बी-टु-सी दुवै लक्षित यस एक्स्पोमार्फत नयाँ उत्पादन, सेवा र प्रविधिको प्रदर्शन गरिनेछ।
कार्यक्रममा ‘हल अफ फेम’ सम्मान, नयाँ ब्रान्ड लञ्च, लाइभ मेकअप तथा हेयर स्टाइलिङ, स्किन केयर कार्यशाला, विशेषज्ञ परामर्श र विभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ।
नेपालमा पछिल्ला वर्षहरूमा कस्मेटिक तथा वेलनेस क्षेत्र तीव्र गतिमा विस्तार भइरहेको छ। हाल यसको बजार आकार करिब २३.६ अर्ब रुपैयाँ पुगेको छ भने २०२५ सम्म आयात २० अर्ब रुपैयाँ नाघ्ने अनुमान छ। उपभोक्ताको जीवनशैली, सौन्दर्य चेतना र खर्च गर्ने क्षमतामा आएको वृद्धिले यो क्षेत्रलाई थप गतिशील बनाएको छ।
