नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७ औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ औपचारिक रूपमा घोषणा गरेको छ। बोर्डले आसियान मुलुकलाई लक्षित गर्दै नेपाललाई दीर्घकालीन र उच्च सम्भावनायुक्त पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने रणनीति सार्वजनिक गरेको हो।
बोर्डका कार्यकारी प्रमुख अधिकृत (सीईओ) दीपक राज जोशीले उद्घाटन समारोहमा सन् २०२६ को केन्द्रित रणनीति प्रस्तुत गर्दै हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेको तथ्य सार्वजनिक गरे। उनले बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस तथा आयुर्वेद, संस्कृति र समुदायमा आधारित पर्यटनमार्फत नेपालको सशक्त पहिचान आसियान बजारमा स्थापित गरिने बताए।
उद्घाटन समारोह संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा र विशिष्ट अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ थिए।
सीईओ जोशीका अनुसार सन् २०२५ मा नेपालमा ११ लाख ६० हजार पर्यटक आउने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३ प्रतिशतले वृद्धि भएको हो। उनले ३१ वटा टुरिजम मार्ट, १२ वटा ब्रान्डिङ तथा कर्पोरेट गतिविधि, र २० भन्दा बढी माइस कार्यक्रम सम्पन्न भएको जानकारी दिए।
जेन्जी आन्दोलनपछिको अवधिमा बोर्डले आठ प्रमुख पर्यटकीय गन्तव्यबाट लाइभ प्रसारणमार्फत प्रवद्र्धन, नौ भाषामा यात्रा सूचना प्रकाशन, ६९ वटा पर्यटन पूर्वाधार विकास र पूर्वदेखि सुदूरपश्चिमसम्म ४१ वटा प्रवद्र्धन तथा विकास कार्यक्रम सञ्चालन गरेको समेत बताए।
एनटीबीले सन् २०२६ का लागि सात प्रमुख पर्यटन यात्रा प्रवृत्ति पनि सार्वजनिक गरेको छ: शान्त वातावरण, जेन–एआई प्रशासन, विश्वासमा आधारित छनोट, सडकमार्ग प्राथमिकता, अत्यधिक व्यक्तिगत अनुभव, अफ–ग्रिड गन्तव्य र संस्कृति प्राथमिकता।
सीईओ जोशीले २०२६–२०३५ रणनीतिक कार्ययोजना प्रस्तुत गर्दै सहभागितामूलक दृष्टिकोण, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति, स्थानीय–वैश्विक अनुभव मिश्रण, अनुत्पादक कार्यक्रम हटाउने र उच्च मूल्य पर्यटनमा केन्द्रित हुने रणनीति स्पष्ट गरे।
बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नतिजामुखी कार्यशैली अवलम्बन भएको र निजी क्षेत्र तथा सरकारसँगको समन्वयमा कार्यक्रम अघि बढाइएको बताए भने बोर्ड कर्मचारी संगठनका अध्यक्ष सन्तोष विक्रम थापाले कर्मचारी वृत्ति विकास, आर्थिक विनियमावली सुधार र पदपूर्ति आवश्यक रहेको उल्लेख गरे।
