काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आफ्नो १२ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने भएको छ।
बैंकले अस्पतालमा उपचार तथा सेवा लिन आउने सेवाग्राहीको सुविधा र सहजतालाई मध्यनजर गर्दै काउन्टर सञ्चालन गर्न लागेको हो। शिक्षण अस्पतालमा बैंकको एक्सटेन्सन काउन्टर निर्माण र सञ्चालनका लागि सम्झौता पत्रमा द्विपक्षीय हस्ताक्षर गरिएको छ।
सम्झौतामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको तर्फबाट कार्यकारी निर्देशक डा. सुवास प्रसाद आचार्य र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइरालाले हस्ताक्षर गरे।
सम्झौता पश्चात अस्पतालले उपलब्ध गराएको स्थानमा बैंकले आवश्यक संरचना निर्माण गरी काउन्टर सञ्चालनमा ल्याउनेछ। यसअघि अस्पताल परिसरमा बैंकले एटिएम जडान गरी सेवा प्रदान गर्दै आएको थियो। अब काउन्टर मार्फत बिरामीहरूले उपचारको बिल भुक्तानी, रेमिट्यान्स सेवा र अन्य बैंकिङ कारोबार सहज रूपमा गर्न सक्नेछन्।
बैंकले सरकारी तथा सार्वजनिक निकायमा अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने अभियानमा थप एक महत्वपूर्ण पहल गर्दै, शिक्षण अस्पतालमा सेवाग्राही र अस्पतालका आर्थिक कारोबारलाई डिजिटलाइज गर्न सहयोग पुर्याउनेछ।
