नेपाल एसबिआई बैंक लिमिटेडले सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको शुक्रबार सम्पन्न ३२औँ वार्षिक साधारण सभाले उक्त लाभांशलाई औपचारिक रूपमा अनुमोदन गरेको हो।
बैंकले वितरणयोग्य नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव सभामा पेश गरेको थियो। साधारण सभाले उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको बैंकका कम्पनी सचिव खगेश्वर भट्टले जानकारी दिए।
लाभांश पारितसँगै सभाले बैंकको भावी रणनीतिअन्तर्गत मर्जरसम्बन्धी प्रस्तावलाई पनि स्वीकृति दिएको छ। यस निर्णयले बैंकको पूँजी संरचना मजबुत बनाउने र दीर्घकालीन व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
३२औँ वार्षिक साधारण सभाबाट भएका निर्णयहरूले बैंकको वित्तीय स्थायित्व र सेयरधनीको हितप्रति प्रतिबद्धता झल्काउने बैंकको धारणा रहेको छ।
