रसुवागढी सीमा नाकाको संचालन पुनः सुरु भएसँगै छिमेकी चीनबाट सामान आयात सुरु भएको छ। सिमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार, शनिबार मात्र १८ वटा इलेक्ट्रिक सवारी (ईभी माइक्रोबस) नेपाल प्रवेश गरेका छन्। यी सवारीसाधन चालु आर्थिक वर्षमा पहिलोपटक आयात भएका हुन् र हाल तिमुरेमा पार्किङ क्षेत्रमा राखिएका छन्। सीमा कार्यालयका अनुसार, यी सवारी आयातकर्ताहरूले सम्बन्धित कर तिर्न लागेका छन्।
त्यसैगरी शनिबार मात्रै ३९ वटा कार्गो कन्टेनर नेपाल प्रवेश गरेका छन्। यसमा स्याउ, रेडिमेड कपडा, लसुन, सवारीका स्पेयर पार्ट्स, अखरोट, ब्याट्री र मेडिकल सामग्री समावेश छन्।
सुरुवाती दिनदेखि शनिबारसम्म ९६ कन्टेनर सामान नेपाल प्रवेश गरिसकेको र रेडिमेड वस्तुहरूको निरिक्षण र क्लियरेंस प्रक्रिया आइतबारदेखि सुरु हुने सीमा कार्यालयका प्रवक्ता ठाकुर गौतमले जानकारी दिए। उनले भने, “स्याउ र अखरोटजस्ता नासिने सामग्रीलाई प्राथमिकतामा राखेर निरिक्षण गरिन्छ।”
सीमाको नियमित सञ्चालन सुरु भएयता दुई दिनमा करमा ९ करोड ८७ लाख रुपैयाँ संकलन भएको छ। यो सीमा नाकाले गत वर्ष जुलाईमा मितेरी पुल बाढीले बगाएपछि लामो समयसम्म काम गर्न सकेको थिएन। चिनियाँ पक्षले हाल बैली ब्रिज निर्माण गरी सीमालाई सञ्चालनमा ल्याएको हो।
