महिला स्टार्टअप सशक्तीकरण आजको आवश्यकता : आरुश्री शर्मा खतिवडा

काठमाण्डौ/ पछिल्ला वर्षहरूमा उद्यमशीलता नेपालको आर्थिक विकास, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको छ। तर यो यात्रामा महिलाको सहभागिता सशक्त रूपमा स्थापित नहुँदासम्म समावेशी विकास सम्भव नहुने स्पष्ट देखिएको छ।

नेपाल महिला चेम्बरकी उपाध्यक्ष एब युवा उद्यमी आरुश्री शर्मा खतिवडाले स्टार्टअप क्षेत्रमा महिलाका लागि अवसर बढ्दै गए पनि चुनौती अझै गहिरो रहेको बताएकी छन्। नीति रिसर्च प्रालि ले काठमान्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विदेशमा सिकेको सीप, अनुशासन र सोच नेपालमै प्रयोग गर्ने चाहना भए पनि सुरुका दिनमा अनेक संरचनागत अवरोध झेल्नुपरेको अनुभव सुनाइन्। “नेपाल फर्किएर केही गरौँ भन्ने चाहना धेरै युवामा छ, विशेषगरी महिलामा। तर नीति, वित्तीय पहुँच र सामाजिक सोच अझै पनि ठूलो चुनौती बनेका छन्,” उनले भनिन्।

खतिवडाका अनुसार प्रविधिको पहुँच विस्तार, डिजिटल बजार र स्टार्टअपमैत्री वातावरणले महिलाका लागि नयाँ सम्भावनाका ढोका खोलेको छ। कृषि, पर्यटन, सेवा, सिर्जनात्मक उद्योग र डिजिटल व्यवसायमा महिलाले आफ्नो सीप र ज्ञानलाई व्यवसायमा रूपान्तरण गरिरहेको अवस्था उत्साहजनक रहेको उनले बताइन्। मोबाइल फोन र इन्टरनेटले महिलालाई स्थानीय बजारमा सीमित नराखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुर्‍याएको उनको भनाइ थियो।

तर अवसरसँगै वित्तीय पहुँचको अभाव, कर्जामा धितोको समस्या, प्रक्रियागत जटिलता, पारिवारिक जिम्मेवारी र सामाजिक मानसिकताले महिला उद्यमीलाई अझै पछि धकेलिरहेको उनले उल्लेख गरिन्। यी समस्या महिलाको क्षमता कमजोर भएर नभई प्रणाली र संरचनामा रहेको कमजोरीका कारण उत्पन्न भएको उनको ठम्याइ छ।

उनले महिला उद्यमीलाई अघि बढाउन महिलामैत्री नीति, सहज कर्जा व्यवस्था, सीपमूलक तालिम, बजार पहुँच र परामर्श सेवाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन्। “महिलालाई अवसर दिइयो भने उनीहरूले केवल आफ्नो व्यवसाय मात्र होइन, समाज र राष्ट्रको अर्थतन्त्रलाई समेत अघि बढाउन सक्छन्,” खतिवडाले जोड दिइन्।