महालक्ष्मी विकास बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सोमबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न भएको छ। बैंकका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न सभामा आ.ब. २०८१/८२ को वार्षिक आर्थिक विवरण, नाफा/नोक्सान, नगद प्रवाह, इक्विटीमा भएको परिवर्तन लगायत वित्तीय विवरणहरू छलफल र स्वीकृत भएका छन्।
सभामा संचालक समितिको प्रस्तावअनुसार १०.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पनि पारित भएको छ। यसमा चुक्ता पूँजीको ५.३७ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण हुने व्यवस्था रहेको छ। अघिल्लो आर्थिक वर्ष बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो।
आर्थिक वर्ष २०८१/८२ मा बैंकका वित्तीय परिसुचकहरू सकारात्मक देखिएका छन्। आधार दर ९.३९ प्रतिशतबाट ६.९४ प्रतिशतमा घटेको छ भने पुँजीकोष पर्याप्यता अनुपात १४.९३ प्रतिशतबाट १७.०६ प्रतिशतमा वृद्धि भएको छ। बैंकको निक्षेप ५६.२२ अर्ब र कर्जा तथा सापटी ४७.२१ अर्ब रुपैयाँ पुगेको छ।
सञ्चालक निर्वाचनमा संस्थापक समूह (क) बाट ३ जना — राजेश उपाध्याय, संजय गिरि, र ग्रोइङ्ग प्रा.लि.को तर्फबाट सागर मल्ल; सर्वसाधारण समूह (ख) बाट ३ जना — श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल, र शालिक राम अर्याल निर्वाचित भएका छन्।
सभाका अध्यक्ष उपाध्यायले शेयरधनीको सुझावलाई आत्मसात गर्दै ग्राहक सन्तुष्टि, लगानीको उचित प्रतिफल, र गुणस्तरीय वित्तीय सेवा प्रवाहमा बैंक अझ सक्षम हुने प्रतिबद्धता व्यक्त गरे। उनले शेयरधनी र सम्पूर्ण सरोकार पक्षको सहयोगको लागि धन्यवाद पनि ज्ञापन गरे।
