कोशी प्रदेशमा स्टार्टअप उद्यममा युवाको प्रभुत्व

नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा गरेको विशेष अध्ययन अनुसार स्टार्टअप उद्यममा न्यूनतम २१ वर्षदेखि अधिकतम ७० वर्षका उद्यमीहरू संलग्न छन्। अध्ययनले यस क्षेत्रमा कुल लगानी रु २ अर्ब ५६ करोड रहेको र त्यसमा ३८.७ प्रतिशत ऋण तथा ६१.३ प्रतिशत स्वपुँजी रहेको देखाएको छ।

उमेर समूहअनुसार २१–३५ वर्षका उद्यमी ३९.३%, ३६–५० वर्षका ४४.४%, र ५०–७० वर्षका १६.२% रहेका छन्। २१–३५ वर्ष समूहमा सबैभन्दा बढी उद्यमी सूचना प्रविधि क्षेत्रमा (७३.३%) संलग्न छन् भने सबैभन्दा कम कृषि क्षेत्रमा (२१.२%) छन्।

३६–५० वर्षका उद्यमी मुख्यतया कृषि क्षेत्रमा केन्द्रित (अधिकतम) छन् भने सूचना प्रविधिमा कम (२६.७%) संलग्न छन्। ५०–७० वर्ष समूहमा सबैभन्दा बढी पर्यटन क्षेत्रमा उद्यमी छन् (२७.३%), तर सूचना प्रविधिमा यस उमेर समूहको कुनै संलग्नता छैन।

अध्ययनका लागि औद्योगिक व्यावसाय विकास प्रतिष्ठानमा स्टार्टअप कर्जाका लागि आवेदन दर्ता गरेका र ‘सर्टलिष्ट’ भएका १६० उद्यमको तथ्याङ्क प्रयोग गरिएको हो। सहभागी उद्यमहरू कृषि तथा वनजन्य, उत्पादनमूलक, सेवामूलक, पर्यटन र सूचना प्रविधि क्षेत्रका रहेका छन्। त्यसमा कृषि तथा वनजन्य ४१.३%, उत्पादनमूलक १८.१%, सेवामूलक १७.५%, पर्यटन १३.८% र सूचना प्रविधि ९.४% रहेको अध्ययनले देखाएको छ।

अध्ययनबाट युवापुस्ताले डिजिटल र प्रविधि क्षेत्रमा बढी रुचि राखेको देखिन्छ भने मध्य उमेर समूहका उद्यमी कृषिमा, र वृद्ध उमेर समूहका उद्यमी पर्यटनमा बढी संलग्न छन्। यसले कोशी प्रदेशमा उमेर अनुसार व्यवसायिक प्राथमिकता र लगानी प्रवृत्तिमा स्पष्ट भिन्नता देखाएको छ।