आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी अन्तर्गत आज उम्मेदवारी दर्ताको प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगका अनुसार मनोनयन दर्ता आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।
त्यस्तै, पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने व्यवस्था छ भने पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि २ बजेसम्म अन्तिम उम्मेदवारीको नामावली प्रकाशित गरिनेछ। पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचन माघ ११ गते सम्बन्धित मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। मतदानमा प्रदेशका सांसद, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुनेछन्।
५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ जना निर्वाचित हुने व्यवस्था छ भने ३ जना राष्ट्रपतिबाट मनोनित हुने छन्। प्रदेशबाट निर्वाचित हुने ८ सदस्यमध्ये तीन जना महिला, एक जना दलित, एक जना अपाङ्गता भएका वा अल्पसंख्यक सदस्य र बाँकी तीन जना खुला उम्मेदवार हुने व्यवस्था छ।
