बीमा भुक्तानी अब पूर्ण रूपमा डिजिटल हुने, सबै कम्पनीहरूलाई निर्देशन

नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था गर्न सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा, पुनर्बीमा कम्पनी र बीमा दलालहरूलाई निर्देश गर्दै, बीमालेख अन्तर्गत दाबी भुक्तानी वा अन्य कुनै प्रकारको भुक्तानी सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा मात्र जम्मा गर्नुपर्ने व्यवस्था मिलाउन भनेको हो।

यो निर्णय २०८२ मा लागू भएको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी नियम र नेपाल सरकारले सार्वजनिक निकायबाट हुने सबै भुक्तानीहरू डिजिटल माध्यमबाट बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको सन्दर्भमा आएको हो।

यसअघि पनि प्राधिकरणले बीमा कम्पनीका स्थायी, अस्थायी, करार वा ज्यालादारी कर्मचारी तथा श्रमिकहरूलाई दिइने पारिश्रमिक वा ज्याला बैंक खातामार्फत मात्र भुक्तानी गर्ने व्यवस्था अनिवार्य गरेको थियो।

प्राधिकरणका अनुसार, अब सबै भुक्तानी प्रक्रिया पूर्ण रूपमा डिजिटल माध्यमबाट हुने भएपछि पारदर्शिता बढ्ने र समयमै रकम पुग्ने सुनिश्चित हुनेछ।

press-realese