नेपालीले दाँत कोट्याउन प्रयोग गर्ने सानो सिन्का (टुथपिक)मै पाँच महिनामा २८ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२–८३ को मंसिर मसान्तसम्म नेपालमा २४ हजार २६६ केजी टुथपिक आयात भएको छ, जसको मूल्य २८ लाख ५ हजार रुपैयाँ पुगेको छ।
यस अवधिमा टुथपिक आयातबाट सरकारले ३२ लाख ८ हजार रुपैयाँ बराबरको राजश्व संकलन गरेको भन्सार विभागले जनाएको छ।
आयात भएको टुथपिकमध्ये बाँसबाट बनेको हिस्सा बढी देखिएको छ। बाँसको टुथपिक ५२ लाख ५० हजार रुपैयाँ बराबरको १४ हजार ९६८ केजी आयात भएको छ, जसबाट सरकारले १९ लाख ८२ हजार रुपैयाँ राजश्व उठाएको छ।
त्यस्तै काठबाट बनेको टुथपिक भने २९ लाख ५५ हजार रुपैयाँ बराबरको ९ हजार २९८ केजी आयात भएको छ, जसबाट १२ लाख २७ हजार रुपैयाँ राजश्व संकलन भएको छ।
देशअनुसार हेर्दा नेपालमा आयात हुने टुथपिकमध्ये चीनको दबदबा स्पष्ट देखिन्छ। चालु आर्थिक वर्षको समीक्षा अवधिमा आयात भएको टुथपिकमध्ये झन्डै १०० प्रतिशत चीनबाटै आएको तथ्यांकमा उल्लेख छ।
चीनबाट मात्र ८१ लाख ६० हजार रुपैयाँ बराबरको २४ हजार २६६ केजी टुथपिक आयात हुँदा सरकारले ३१ लाख ६४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
चीनबाट आयात भएकोमध्ये बाँसबाट बनेको टुथपिक ५२ लाख ३२ हजार रुपैयाँ बराबरको १४ हजार ९१८ केजी छ, जसबाट १९ लाख ७२ हजार रुपैयाँ राजश्व उठेको छ। काठबाट बनेको टुथपिक भने २९ लाख ३७ हजार रुपैयाँ बराबरको ९ हजार ४६ केजी आयात भएको छ, जसबाट ११ लाख ९२ हजार रुपैयाँ राजश्व संकलन भएको छ।
यसै अवधिमा भारतबाट ३४ हजार रुपैयाँ बराबरको १०० केजी टुथपिक मात्र आयात भएको छ, जसबाट १२ हजार रुपैयाँ राजश्व उठेको छ। भारतबाट आयात भएकोमध्ये २७ हजार रुपैयाँ बराबरको ५० केजी बाँसको टुथपिकबाट १० हजार रुपैयाँ र ७ हजार रुपैयाँ बराबरको ५० केजी काठको टुथपिकबाट ३ हजार रुपैयाँ राजश्व संकलन भएको छ।
त्यस्तै थाइल्यान्डबाट ११ हजार रुपैयाँ बराबरको २०२ केजी काठको टुथपिक आयात हुँदा सरकारले ३१ हजार रुपैयाँ राजश्व उठाएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
