केरुङ्गे खोलामा ८ वर्षपछि पुल निर्माण सम्पन्न

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण अन्ततः पूरा भएको छ। विसं २०७५ मा सुरु गरिएको पुल निर्माण ८ वर्षपछि सम्पन्न भएको हो।

कावासोती नगरपालिका–४ का वडाअध्यक्ष नारायणप्रसाद लोहनीका अनुसार, एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने गरी काम अघि बढाएको थियो। तर बारम्बार म्याद थप भएपछि अब पुलले पूर्णता पाएको छ।

नवनिर्मित पुलले कावासोती नगरपालिका–३ र ४ जोड्ने केरुङ्गे खोलामा स्थानीय आवतजावतमा सहजता ल्याउने वडाअध्यक्ष लोहनीले बताए।

एक सय ४० मिटर लम्बाइको पुल करिब १० करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भएको छ। यो पुलले स्थानीयको दैनिक जीवन र आवागमनमा सुविधा थप्ने अपेक्षा गरिएको छ।