रोयल टुलिप चितवनको महाप्रबन्धकमा कृष्णप्रसाद तिमल्सिना नियुक्त

सौराहास्थित पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’ मा कृष्णप्रसाद तिमल्सिना महाप्रबन्धक नियुक्त भएका छन्। केटीएम हस्पिटालिटीद्वारा सञ्चालित प्रिमियम रिसोर्टले बिहीबार तिमल्सिनालाई नियुक्त गरेको हो। तिमल्सिनासँग ३० वर्षको अन्तर्राष्ट्रिय अनुभव रहेको छ र उनले नेपाल तथा चीनका प्रतिष्ठित अन्तर्राष्ट्रिय चेन होटल र रिसोर्टको नेतृत्वमा काम गरिसकेका छन्।

रिसोर्ट गत असोजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो। रोयल टुलिप ब्राण्डको होटलले पहिलो पटक नेपालीलाई महाप्रबन्धक बनाएको हो। केटीएम हस्पिटालिटीका अध्यक्ष रामेश्वर शाहले भने, “होटल निर्माणका क्रममा स्वदेशी उत्पादनको अधिकतम प्रयोग गरिएको थियो। त्यसैगरी, जनशक्ति पनि स्वदेशी नै उपयोग गर्ने नीति अनुरुप अन्तर्राष्ट्रिय अनुभव बटुलेका तिमल्सिनालाई नियुक्त गरिएको हो।”

रोयल टुलिप फ्रान्सको लुभ्र होटल्स ग्रुप अन्तर्गतको प्रिमियम ब्राण्ड हो जसले विश्वभर ७० भन्दा बढी देशमा १,७५६ भन्दा बढी होटल सञ्चालन गरिरहेको छ। तिमल्सिनाको नियुक्तिले चितवनको पर्यटन तथा होटल व्यवसायमा गुणस्तरीय नेतृत्व र स्थानीय प्रतिभाको प्रोत्साहनलाई थप बल दिने अपेक्षा गरिएको छ।